आइतबार तीन वटा वायुसेवाबाट ४८० नेपाली भित्रिए, ४२ जना बाहिरिए
अन्तर्राष्ट्रिय उडानका तीन वायुसेवाबाट आइतबार ४८० जना नेपाली नेपाल फर्किएका छन्। नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र मालिन्दो एअरले मलेसियाको क्वालालम्पुरबाट उद्धार उडानमार्फत ४८० जना नेपाली नेपाल ल्याएका हुन्।
त्यस्तै ४२ जनालाई त्रिभुवन विमानस्थलको बाटो भएर बाहिरिएका छन्। श्री एअरलाइन्सले ३२ जनालाई थाइल्याण्ड र भुटानको ड्रुक एयरले १० जनालाई नेपालबाट लगेको त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलले जानकारी दिएको छ।
नेपाल यात्रु लिएर आउनेमा नेपाल एअरलाइन्सले १५१ जना, हिमालयले १५६ जना र मालिन्दो एअरले १७३ जना ल्याएको छ। आइतबार नै भएको अन्तर्राष्ट्रिय उडानबाट १४६७८ केजी कार्गो नेपाल भित्रिएको छ भने ६८२ केजी सामान बाहिरिएको छ।
आइतबार विमानस्थलबाट विभिन्न ८ वटा अन्तर्राष्ट्रिय उडान भएको छ भने आन्तरिकतर्फ पनि ६ वटा उडान भएको विमानस्थल कार्यालयले जारी गरेको उडान विवरणमा उल्लेख छ। आन्तरिक उडानमा को हेलिकप्टरले डोल्पाबाट ३ जना लिएर काठमाडौं आएको छ।
कैलाशको हेलिकप्टरले ३ जना लिएर मुस्ताङ गएको छ भने सिता एयरले पनि १५ जना लिएर नेपालगन्ज गएको छ। सिम्रिकको हेलिकप्टरको दुई वटा उडान नेपालगन्ज र बुटवल तथा मनाङको हेलिकप्टरबाट एउटा उडान बुटवलका लागि भएको छ।
यस्तै भोली हुने अन्तर्राष्ट्रिय उडानमा हिमालय एअरलाइन्स अबुधावी र दोहा जाने भएको छ भने नेपाल एअरलाइन्स दुबई् र दोहा जाने तय भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।