फरक विचार राखेकै कारण उमा भुजेललाई थुनिएको सर्वोच्चको ठहर (आदेशसहित)
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नकेपाकी केन्द्रीय सदस्य उमा भुजेललाई फरक राजनीतिक विचार राखेकै आधारमा पक्राउ गरी थुनिएको भन्दै आजै मुक्त गर्न आदेश दिएको छ।
आठ महिनादेखि पक्राउ पर्दै र छुट्दै आएकी उनलाई १२ साउनदेखि निरन्तर हिरासतमा राखिएको थियो। विभिन्न अदालतका आदेशपछि पनि थुनामुक्त नभएपछि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण मुद्दा परेको थियो।
त्यसपछि सर्वोच्च अदालतले भूजेललाई थुनामा राख्नुको कारण सोधेको थियो। भूजेल मास्क नगलाइ हिँडेकी र प्रहरीले मास्क लगाउन अनुरोध गर्दा उल्टै प्रहरीलाई गाली गरेको भन्दै अभद्र व्यवहारमा उनीमाथि मुद्दा चलाइएको प्रहरीले सर्वोच्च अदालतलाई जवाफ पठाएको थियो।
तर, सर्वोच्च अदालतले भने हातहतियार तथा खरखजाना मुद्दामा साधारण तारखेमा छुटेकी उनलाई मास्क नलगाएको निहुँमा पक्रेर थुनामा राख्ने कार्यलाई गैरकानूनी थुना भन्दै आजै मुक्त गर्न आदेश दिएको हो।
न्यायाधीशद्वय दीपककुमार कार्की र हरिकृष्ण कार्कीको इजलासले 'स्पष्ट आधार र कारणविना प्रवृत्त भावनाले निवेदकलाई केवल फरक विचार र आस्था राखेकै कारणबाट मात्र पक्राउ गर्ने र अनुसन्धानको क्रसमा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नभएको' भन्दै उनलाई मुक्त गर्न आदेश दिएको हो।
'निवेदकलाई आजै सम्बन्धित जिल्ला अदालतको जिल्ला न्यायाधीशको रोहवरमा थुनामुक्त गरी सोको जानकारी यस अदालतमा समेत पठाउनू' सर्वोच्चले आदेशमा भनेको छ।
भूजेल सप्तरीको ईलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा छिन्। एक जिल्लाको अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएपछि प्रहरीले अदालतकै गेटबाटै पक्राउ गर्दै अर्को जिल्लाको प्रहरीको जिम्मा लगाउँदै आएको थियो। शुरूमा सुनसरीबाट पक्राउ परेकी उनलाई त्यसपछि १२ वटा जिल्ला पुर्याइएको थियो।
अहिले सप्तरीको ईलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएकोमा उनकी भतिजी प्रतिमा भुजेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।