कालीकोटमा पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु
कालीकोटको तिलागुफा नगरपालिका-१ नाग्म बजारमा पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।
आज बिहान गएको पहिरोमा पुरिएर मृत्यु हुनेमा शुभकालिका गाउँपालिका-६ का ४० वर्षीय परेश शाही, उनका सात वर्षीया छोरी हीमा शाही, पाँच वर्षीय छोरा निराजन शाही र दुई महीनाको छोरा अक्कल शाही रहेको प्रहरीले जनाएको छ।
उनीहरू नाग्म बजारमा किराना पसल गरी बस्दै आएका थिए। पहिरोमा परेर गम्भीर घाइते भएकी परेश शाहीकी श्रीमती ३५ वर्षीया पुन्ना शाही र तिलागुफा नगरपालिका–३ का ११ वर्षीय अर्जुन हमालको उद्धार गरि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइएको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, डीएसपी श्यामबाबु ओलियाका अनुसार पहिरोमा परी बेपत्ता भएको आशंका गरिएका अन्य तीन जनाको खोजी कार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक यज्ञराज जोशीको नेतृत्वमा सशस्त्र प्रहरीसहित उद्धार टोली घटनास्थलमा खटाइएको डीएसपी ओलियाले बताए।
पहिरो गएको क्षेत्रमा सञ्चारको कुनै पनि सुविधा नभएकाले समयमा खबर नहुँदा घरभित्र पुरिएका मानिसलाई उद्धार गर्न ढिलाइ भएको स्थानीय पत्रकार कालीबहादुर मल्लले बताए। भत्केका घरभित्रबाट आवाज आइरहेको सुनिएकाले तत्काल उद्धार टोली पुग्नसके जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको उनले बताए।
कर्णाली राजमार्गसँगै जोडिएको नाग्म बजारका घरमाथि पहिरो खसेकाले अहिले राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।