कोरोनाभाइरस संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु
चितवनमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर –११ का ५२ वर्षीय पुरुषको आज मध्याह्न १२ बजे मृत्यु भएको हो।
यससँगै चितवनमा मात्रै कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। यसअघि पहिलोपटक चितवनमा भरतपुर–११ कै एक व्यक्तिको मृत्यु भएको थियो।
आज मृत्यु भएका पुरुष यही ४ भदौमा निमोनिया र उच्च ज्वरोको समस्यापछि अस्पताल भर्ना भएका थिए। उनको श्वासप्रश्वासमा थप जटिलता देखिएपछि कोरोना परीक्षण गरिएको थियो। उनलाई ७ भदौमा कोरोनाभाइरस रिपोर्ट पोजिटिभ आएको थियो। अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै उनको मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले बताए।
यससँगै चितवनमा समग्ररूपमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। तीमध्ये पाँच चितवनका, तीन मकवानपुरका तथा एक÷एक जना बारा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), गोरखा र कैलालीका छन्।