भारतको सर्वोच्च अदालतले प्रशान्त भूषणलाई भोलि सजाय सुनाउने
भारतको सर्वोच्च अदालतले त्यहाँका चर्चित अधिकारकर्मी प्रशान्त भूषणलाई भोलि सजाय सुनाउने भएको छ। भूषणका दुई वटा ट्वीटले अदालतको अवहेलना गरेको ठहर्याएको अदालतले सजाय सुनाउने गरी भोलिलाई समय तोकेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।
न्यायाधीश अरूण मिश्र नेतृत्वको इजलासले भोलि भूषणलाई सजाय सुनाउने छ। त्यही इजलासले नै भूषणलाई दोषि ठहर गर्नुका साथै उनलाई हुने सजायबारे पनि सुनुवाइ गरेको थियो।
अदालतको अवहेलनासम्बन्धी भारतीय कानूनअनुसार भूषणलाई ६ महीनासम्म कैद वा दुई हजार भारतीय रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ।
यसअघि सर्वोच्च अदालतले भूषणलाई आफूले अदालतको अवहेलना गरेको स्वीकार गर्दै माफी माग्न भनेको थियो। तर, भूषणले आफूले कुनै गल्ति नगरेकाले माफी नमाग्ने बताएका थिए।
साथै उनले महात्म गान्धीले अदालतसमक्ष गरेको बयानका अंशहरू लिएर आफूले अदालतसमक्ष दया पनि नमाग्ने र एउटा नागरिकको सर्वोच्च कर्तव्यको रूपमा अदालतले कानूनअनुसार दिने सजायलाई स्वीकार गर्ने लिखित बयान दिएका थिए। अदालते त्यस्तो बयान फिर्ता लिन भनेको थियो तर, भूषणले त्यसलाई पनि अस्वीकार गरेका थिए।
पछिल्ला वर्षहरूमा सर्वोच्च अदालतले लोकतन्त्रलाई कमजोर बनाउन भूमिका खेलेको भन्दै भूषणले अदालतको आलोचना गर्दै आएका छन्। आफूलाई दोषि पाउने अदालतको फैसला पुनरावलोकन गर्न निवेदन दिने बताउँदै भूषणले त्यतिन्जेललाई सजाय निर्धारण नगर्न माग गरेका थिए।
तर, सर्वोच्च अदालतले भूषणको यस्तो अनुरोध अस्वीकार गरेर सजाय निर्धारण गर्ने सुनुवाइ गरेको थियो। भारतका महान्यायाधिवक्ताले पनि सर्वोच्च अदालतमा पुगेर भूषणलाई सजाय नदिन माग गरेका थिए।
भूषणलाई अदालतको अवहेलनामा दोषि पाउने र सजाय सुनाउने इजलासको नेतृत्व गरिरहेका न्यायाधीश मिश्र यसैसाताको बुधबार सेवानिवृत्त हुँदैछन्।