उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश
आठ महीनादेखि विभिन्न जिल्लाका प्रहरी हिरासतमा राखिंदै आएकी उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
हाल सप्तरीको ईलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएकी उनलाई गैरकानूनी रूपमा थुनामा राखिएको ठहर गर्दै सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको हो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरिकृष्ण कार्कीको इजलासले आज थुनामुक्त गर्न आदेश दिएको भुजेलका कानूनव्यवसायी वरिष्ठ अधिवक्ता एकराज भण्डारीले जानकारी दिए।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य उमा भुजेल १२ पुस २०७६ मा पक्राउ परेयता १२ जिल्लाका प्रहरी हिरासतमा थुनुवाका रुपमा बसिसकेकी छन्।
एक जिल्लाको अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएपछि प्रहरीले अदालतकै गेटबाटै पक्राउ गर्दै अर्को जिल्लाको प्रहरीको जिम्मा लगाउँदै आएको थियो। शुरूमा सुनसरीबाट पक्राउ परेकी उनलाई त्यसपछि १२ वटा जिल्ला पुर्याइएको थियो।
अहिले सप्तरीको ईलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएकोमा उनकी भतिजी प्रतिमा भुजेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।
५ भदौमा सर्वोच्च अदालतमा निवेदन दर्ता भएकोमा ७ र १२ भदौमा पनि सुनुवाइ भएको थियो। उमाले आफूलाई ८ महीनादेखि निरन्तर रूपमा गैरकानूनी हिरासतमा राखिएको र कोभिड–१९ को जोखिम पनि भएको भन्दै थुनामुक्त गर्न माग गरेकी थिइन्।
उनले आफूलाई अहिले थुनामा राखिएको स्थानबाट अन्यत्र स्थानान्तरण नगर्नू, तुरून्त अदालतसमक्ष उपस्थित गराई गैरकानूनी थुनाबाट मुक्त गर्नू र विना कारण पटक–पटक पक्राउ नगर्नू भनी तीन वटा आदेश माग गरेकी थिइन्।