कोरोना संक्रमणको जोखिममा गाउँभन्दा शहर ! सावधानी अपनाए जोगाउन सकिन्छ पहाडी र हिमाली जिल्ला
मानिसहरुको आवागमन नियन्त्रण गरी निगरानी बढाउने हो भने पहाडी र हिमाली जिल्लालाई कोरोना संक्रमणबाट सुरक्षित राख्न सकिने विश्लेषण गरिएको छ।
२०७६ चैतको अन्तिम साता सूदूरपश्चिम प्रदेश अन्तर्गतका स्थानीय तहका जनप्रतिनिधिलाई एउटै डर थियो- कोरोनाभाइरसको संक्रमणबाट गाउँलाई कसरी बचाउने? रोजगारीका लागि भारत गएका मानिसहरु धमाधम फर्किएर निश्फिक्री गाउँघरमा घुम्न थालेपछि गाउँमा संक्रमण दर बढ्ने विश्लेषण गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार २४ चैतसम्म सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या चार थियो। त्यसवेला सबैभन्दा बढी संक्रमित भएको प्रदेश यही थियो।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद सुवेदीका अनुसार, २३ फागुनदेखि ८ चैतसम्म करीब डेढ लाख मानिस भारतबाट सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आएका थिए। यसले गाउँहरू कोरोना संक्रमणको केन्द्र बन्ने त्रास मानिसहरूमा बढेको थियो। यस्तो अवस्था सूदूरपश्चिम मात्र होइन, कर्णाली, प्रदेश–५ तथा अन्य प्रदेशका पहाडी जिल्लामा पनि थियो।
“कोरोना प्रभावित भारतका विभिन्न स्थानबाट मानिसहरू आएपछि त्यतिवेला कोरोनाको हटस्पट सुदूरपश्चिम बन्न सक्ने सबैको अनुमान थियो”, सुवेदी भन्छन्। हुन पनि, कोरोना संक्रमण रोक्न सरकारले बन्दाबन्दी लागू गरेको एक महीनासम्म शहर भन्दा गाउँलाई जोखिम मानिएको थियो। तर, बन्दाबन्दी खुकुलो हुँदै त्यसको अन्त्य हुँदासम्म भने गाउँभन्दा शहर बढी जोखिममा देखिए।
पहाडी र हिमाली जिल्लामा संक्रमण बढी नदेखिनुमा सावधानी र प्रभावकारी व्यवस्थापनले काम गरेको देखियो। बैतडीको पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्द पहिलो र दोस्रो चरणमा भारतबाट आएकाहरुलाई १५ देखि २५ दिनसम्म क्वारेन्टिनमा राखेर चेकजाँच गरेर नेगेटिभ रिपोर्ट आएपछि मात्र समुदायमा जान दिइएको बताउँछन्।
अहिले पनि भारतबाट मानिसहरू पश्चिम पहाडमा आउन रोकिएको छैन। सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदीका अनुसार, सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न नाका भएर अहिले दैनिक सरदर एक सयको हाराहारीमा मानिस आइरहेका छन्। उनीहरुलाई सीधै उनीहरुको घर भएको सम्बन्धित पालिकामा पठाइन्छ र वडाको निगरानीमा होम आइसोलेसनमा जान्छन्।
पाटन नगरपालिकाका मेयर चन्द बाहिरबाट आएका मानिसहरुलाई आफूहरूले खुला रुपमा हिंड्न नदिने बताउँछन्। “उनीहरुलाई घरमै क्वारेन्टिनमा बस्न निर्देशन दिन्छौं र वडा तहबाट अनुगमन गर्छौं। १४ दिनको क्वारेन्टिन अवधि पूरा भएपछि पीसीआर परीक्षण गरिन्छ”, उनी भन्छन्।
बचाउन सकिन्छ पहाड
स्वास्थ्य मन्त्रालयले १४ भदौ साँझ सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० भन्दा कम सक्रिय संक्रमित रहेका जिल्लाको संख्या ९ छ। ती जिल्लाहरू धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, रसुवा, म्याग्दी, रुकुम पूर्व, दार्चुला, मुगु लगायत हिमाली र पहाडी भेगका छन्।
त्यसैगरी, १० देखि ५० जना संक्रमित भएका जिल्लाको संख्या २६ छ। त्यसमा रुकुम, रोल्पा, प्यूठान, रुकुम पश्चिम,, बाजुरा, जाजरकोट, अर्घाखाँची लगायत जिल्ला पर्छन्।
अहिलेसम्म २ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरु भारतसँग सिमाना जोडिएका र काठमाडौं उपत्यकाका जिल्लाहरु छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी अहिले पहाडी जिल्लामा वर्षाका कारण बाटोघाटो बन्द भएर मानिसको आवतजावत रोकिएकाले संक्रमण कम देखिएको बताउँछन्।
“अहिले प्रकृतिले नै मानिसहरुको आउजाउ रोकिदिएको छ, तर जब आर्थिक क्रियाकलाप र मानिसको आवागमन बढ्छ, अनि संक्रमण सबैतिर फैलिने जोखिम हुन्छ,” उनी भन्छन् “अहिलेकै अवस्थामा राखेर नियन्त्रण गर्न सके त पहाड जोगाउन सकिन्छ। तर, चाडबाड र मानिसको चहलपहलले फेरि पहाडमा संक्रमण फैलिने डर छ।”