यसरी सुक्दैछ टोनी हागनले देखेको त्यो हिमनदी
हिंडेरै नेपालका डाँडाकाँडा चहारेका स्वीस भूगर्भविद् टोनी हागनले सन् १९५७ मा मनाङमा खिचेको एउटा तस्वीर यतिबेला हिमनदीको हालत पत्ता लगाउने प्रमाण बनेको छ।
राणाशासनमै नेपालको विकास परियोजना बनाउने समूहमा आएका स्वीस नागरिक टोनी हागन त्यसपछि बारम्बार नेपाल आए, सरकारी जागीरे समेत भए। नेपालमा भौगर्भिक अध्ययनमा लामो समय बिताएका हागनले आफ्ना नेपाल सम्बन्धी किताबमा लेखेका विषयवस्तु हेर्दा थाहा हुन्छ- उनको रुचि र खोज भौगर्भिक अध्ययनमा मात्रै सीमित थिएन। उनको अध्ययनको दायरा विकास मोडलदेखि आर्थिक, सामाजिक विषयमा समेत फैलिएको थियो।
नेपाली भाषामा अनुवाद उनका किताबहरू ‘नेपालको चिनारी’, ‘विकास र विकेन्द्रीकरण’ तथा ‘उहिलेको नेपाल’ वृत्तचित्रले पनि हागनको खोज र रुचिको दायरालाई पुष्टि गर्छ।
हागनले सन् १९५७ मा मनाङ यात्राका क्रममा खिचेको एउटा तस्वीर यतिबेला उक्त क्षेत्रमा हिमनदीको खुम्चँदो अवस्थाबारे नयाँ तथ्य पत्ता लगाउन उपयोगी भएको छ।
चीनको प्रतिष्ठित अनुसन्धानमूलक संस्था चाइनिज एकेडेमी अफ साइन्सेस (क्यास) अन्तर्गतको इन्ष्टिच्यूट अफ टिबेटियन प्लेटो रिसर्चका अनुसन्धानकर्ताहरूले मनाङका गंगापूर्ण र अन्नपूर्ण तेस्रो हिमनदीहरू सुक्दै गएको तथ्य पत्ता लगाएका छन्।
अनुसन्धानकर्ताहरूले हागन र १९७९ मा चेक रिपब्लिकका डेनेक थोमाले खिचेका तस्वीरहरूको अध्ययन गरी २०१६ मा स्थलगत भ्रमण समेत गरेका थिए। अनुसन्धान समूहले पुराना र स्वयंले खिचेका तस्वीरहरूको तुलनात्मक अध्ययन गर्दै हिमनदी खुम्चिएपछि बगरमा उम्रिएका रूखको उमेर समेत पत्ता लगाएका थिए।
सुक्दै हिमनदी
इन्ष्टिच्यूट अफ टिबेटियन प्लेटो रिसर्चका अनुसन्धानकर्ता शालिकराम सिग्देल (नेपाल) को नेतृत्वमा गरिएको अनुसन्धानमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) मा कार्यरत शेर मोहम्मद (पाकिस्तान), तथा तीन चिनियाँ हुई चाङ, हइफङ् चु र अर्युआन लियाङ् संलग्न थिए।
उनीहरूको अनुसन्धानमूलक आलेख हालै मात्र अमेरिकी जर्नल ‘जर्नल अफ जियोफिजिकल रिसर्च-बायोजिओसाइन्स’ मा प्रकाशित भएको छ।
‘मध्य हिमालयमा पछिल्लो २०० वर्षमा खुम्चिंदो हिमनदी र फैलँदो वन’ शीर्षकमा प्रकाशित आलेखमा मनाङ उपत्यकाका दुई वटा हिमनदी सुक्दै र खुम्चँदै गएको तथा त्यसले छाडेको बगरमा गोब्रेसल्ला, भोजपत्र र तालिस पत्र जस्ता रूखहरू फैलिंदै गएको बारे विस्तारमा उल्लेख गरिएको छ।
अनुसन्धानकर्ताहरूले सन् १९५७ देखि २०१६ सम्म अवधिको गंगापूर्ण हिमनदी र सन् १८०८ यताको अन्नपूर्ण तेस्रो हिमनदीमा आएको परिवर्तन नियालेका थिए।
मुख्य अनुसन्धानकर्ता सिग्देल यसरी निकालिएका निष्कर्षलाई सन् १९८८, २००८ र २०१९ मा भूउपग्रहबाट लिइएका तस्वीरहरूसँग तुलना गरिएको बताउँछन् ।
१९ अक्टोबर १९८८ सम्ममा गंगापूर्ण हिमनदी ९ किलोमिटर लामो र १७.७४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको थियो। तर, २० वर्षपछि २६ अक्टोबर २००८ मा उक्त हिमनदीको लम्बाइ ८.२८ मा सीमित भयो भने क्षेत्रफल पनि १७.५७ वर्गकिलोमिटरमा झ¥यो। २५ अक्टोबर २०१९ मा हिमनदीको लम्बाइ थप घटेर ८.०५ किलोमिटर र क्षेत्रफल १७.५ वर्गकिलोमिटरमा खुम्चियो।
“पछिल्लो ३० वर्षमा गंगापूर्ण हिमनदी झण्डै एक किलोमिटर र अन्नपूर्ण तेस्रो हिमनदीको लम्बाइ पनि करीब ३०० मिटर घटेको पायौं”, अनुसन्धानकर्ता सिग्देल भन्छन्।
सन् १९८८ मा ३.५६ किलोमिटर लामो अन्नपूर्ण तेस्रो हिमनदी २००८ मा ३.४ र २०१९ मा ३.२६ किलोमिटरमा समेटिएको छ। १९८८ मा १.१६ वर्गकिलोमिटर रहेको यसको क्षेत्रफल पनि २००८ मा १.१४ र २०१९ मा १.१३ वर्गकिलोमिटरमा साँघुरिएको छ।
हिमनदीको खुम्चने क्रम पछिल्ला वर्षहरूमा झनै तीव्र भएको छ। सन् १९५७ देखि १९७९ को २२ वर्षमा गंगापूर्ण प्रति वर्ष १७.५ मिटरका दरले ३८६ मिटर घटेको थियो। १९७९ देखि २०१६को ३७ वर्ष अवधिमा भने प्रति वर्ष २४.४ मिटरका दरले ९०३ मिटर घटेको देखिन्छ।
अन्नपूर्ण तेस्रो हिमनदी पनि पछिल्ला वर्षहरूमा तीव्रदरमा घटिरहेको छ। सन् १८९५ देखि १९५० मा प्रति वर्ष ३.१४ मिटरका दरले २०४.५ मिटर घटेको यो हिमनदी १९५१ यताको ६५ वर्ष भने प्रति वर्ष ७.५४ मिटरका दरले ४९९.९ मिटर घटिसकेको आलेखमा उल्लेख छ।
सिग्देल जलवायु परिवर्तनको कारण यसरी हिमनदीहरू सुक्दै गएको बताउँछन्। “यी हिमनदीहरू मर्याङ्दी नदीमा पानी आपूर्ति गर्ने स्रोतहरू हुन्। यी सुक्दै जाँदा अन्ततः पानीकै आपूर्तिमा समस्या आउनसक्छ” उनी भन्छन्, “त्यसको प्रभाव जलविद्युत् आयोजना तथा सिंचाइमा पर्न सक्छ।”
हिमनदी सुक्दै जाँदा हिमाली क्षेत्रमा पाइने गोब्रे सल्ला, भोजपत्र जस्ता रूखहरू माथि माथि सर्दै गइरहको सिग्देल बताउँछन्।