किन गरिन्छ उपाकू यात्रा ?
इन्द्रजात्राको शुरुआती दिन भाद्रशुक्ल द्वादशी अर्थात् आज मनाइने उपाकू पर्वको सांस्कृतिक महत्व र ऐतिहासिकता खोजी गर्नैपर्ने भएको छ।
मान्छे मृत्यु संस्कारमा बढी संवेदनशील हुने गर्छ। काठमाडौंमा इन्द्रजात्राको शुरू हुने दिन १४ भदौ (भाद्रशुक्ल द्वादशी) मा उपाकू जाने भनी गरिने नगर परिक्रमा पनि मुख्यतः मृत्युसँग नै सम्बन्धित छ।
गएको महीना २० साउनमा सम्पन्न गाईजात्रा पनि मृत्युसँग नै सम्बन्धित पर्व हो। वर्षभरिमा कति जनाको मृत्यु भयो भनी गणना गर्न राजा प्रताप मल्लको समयदेखि गाईजात्रा पर्व शुरू गरिएको भन्ने कतिपयको तर्क सुन्दा पत्यारिलो जस्तो लागे पनि यो इतिहाससम्मत भने होइन। गाईजात्रामा मृतकको घरबाट गाई बनाएर नगर परिक्रमा गराइने भनिए पनि शाक्य, बज्राचार्य, उदाय लगायतका केही बौद्ध समुदायमा यस्तो चलन छैन।
गाईजात्रामा गाईको भेषमा बालक वा किशोरलाई नगर परिक्रमा गराएपछि उपाकूमा जानुपर्दैन भनिए पनि ज्यापूलगायत केही समुदाय गाईजात्रा र उपाकू दुवैमा सहभागी भइरहेका हुन्छन्। तसर्थ यी दुवै मृत्युसँग सम्बन्धित भए पनि मृत्यु गणनासँग भने सम्बन्धित होइन। इन्द्रजात्राका अनेक पक्षहरूमा उपाकू पनि एक हो।
आफ्ना दिवंगत सदस्यले सुगति प्राप्त गरून् भन्ने कामना हिन्दू तथा बौद्ध दुवै धर्मावलम्वीले गरेको पाइन्छ। उपाकूका दिन मृतकको नाममा घरका सदस्य तथा आफन्तहरू बाटोभरि धूप बालेर र तुतः (बज्रयानी बौद्ध स्तोत्र) पाठ गरेर नगर परिक्रमा गर्दछन्। मठ, मन्दिर, चैत्य, पीठ आदिमा पाला चढाउँछन्।
यो बेला बाटोमा आफन्तसँग जम्काभेट भयो भने उनलाई पनि देवतालाई सरह पाला चढाउने अनौठो चलन देख्न पाइन्छ। कोही इच्छानुसार धिमे, दाफा, धाः, भुस्याः, पयँताः लगायतका बाजागाजा बजाउन लगाउँछन् त कोही बज्रयानी पुरोहितलाई धारणी पाठ गराउँदै नगर परिक्रमा गराउँछन्।
उपाकूमा सहभागी हुनेहरू आफूखुशी बाटो अपनाउन पाउँदैन। एकै ठाउँमा जम्मा भएर नगर परिक्रमा नगरिने भए पनि एउटै बाटो अपनाउने हुनाले यस दिन बाटोमा धार्मिक वातावरण सिर्जना हुन्छ। टोलवासीले उपाकूमा आउनेलाई अप्ठ्यारो नहोस् भनेर बाटो बिग्रेको वा फोहोर छ भने पहिल्यै बनाएर राखिन्छ। भजन–कीर्तनका साथै अन्य आवश्यक सुविधा पनि बन्दोबस्त गरिएको हुन्छ।
उपाकूकोे परम्परागत बाटो सूक्ष्म ढंगले नियाल्ने हो भने यसमा प्राचीन राजनीतिक भूगोलको नापनक्शा देखापर्छ। प्राचीन समयमा उपाकूमा नगरको सीमा क्षेत्र हुँदै परिक्रमा गरिन्थ्यो। वस्ती विस्तारका क्रममा प्राचीन सीमा नै मेटिएको अवस्थामा उपाकूको परम्पराले उक्त प्राचीन सीमा सम्झाइरहेको बुझ्न सकिन्छ।
काठमाडौंमा उपाकू जाने प्रचलित बाटो निम्नानुसार छ– मरुटोल, मरुगणेश, भगवतीवारी, चसाँन्दोल, दमाइटोल, कंगः अजिमा, कँयता हिति, सुन्तागल्ली, न्यतँतुुंछेँ (नरदेवी), रक्तकाली, बुरांख्यः (भुुरुंखेल), इखापुखू, क्षेत्रपाटी। क्षेत्रपाटीबाट स्वांछपु गणेद्यः, थँहिति, ज्याथा छुस्या बहाल, असन–कमलाछि, भोटाहिति, महाबौद्ध, भोसिको टोल, न्यूरोड हुँदै तेबहाल, सुुन्धारा, बागदरबार, ताहागल्ली, भुलां, गणबहाल, खिधल, लगन, भोटेबहाल, पोडेटोल, सबल (नायपाच्व), चल्खु, सापूूत्वाः, ओन्देनारायण, ह्युमत, जोशी देगल, कोहिति, भीमसेनस्थान, ख्यःक्यव, भौक्यव हुँदै पुनः मरुटोलमा आएर परिक्रमा टुंगिन्छ।
तर यहींबाटै उपाकू शुुरू गर्ने भनेर निश्चित ठाउँ भने तोकिएको छैन। जहाँबाट पायक पर्छ, त्यहींबाट शुरू गरी सोही ठाउँ आएर अन्त्य गर्नुपर्छ।
उपाकू जाने परम्परा पशुपति मन्दिर क्षेत्रमा पनि थियो, जुनबेला पशुपतिको भूमि निश्चित थियो। यस क्षेत्रको सीमा क्षेत्रमा उपाकू जाने चलन भए पनि हाल यसको अभ्यास लगभग हराइसकेको छ। यस क्षेत्रमा हुुने उपाकूको बाटो पहिल्याउने काम डा. गोविन्द टण्डनले आफ्नो शोधग्रन्थमा गरेका छन्।
शोधका अनुसार, गुह्येश्वरी उत्तरको फाँट इनागालको गणेशस्थानबाट उबेला उपाकू शुरू हुन्थ्यो। वागमती तरेर गुह्येश्वरी प्रदक्षिणा गरी उत्तर मूल सडकभन्दा पूर्वको गोरेटो भई मृगस्थलीको पूर्व सिमाना पुग्ने गरिन्थ्यो। यस बीच ठाउँ ठाउँमा पूजा गरी बत्ती बाल्ने गरिन्थ्यो (पूरा बाटो स्केचमा हेर्नुहोस्।)
जुनबेला पशुपतिको भूमि निश्चित थियो। यस क्षेत्रको सीमा क्षेत्रमा उपाकू जाने चलन भए पनि हाल यसको अभ्यास लगभग हराइसकेको छ। यस क्षेत्रमा हुुने उपाकूको बाटो पहिल्याउने काम डा. गोविन्द टण्डनले आफ्नो शोधग्रन्थमा गरेका छन्।
उपाकूूको परम्परा प्राचीन विशालनगर (हाँडीगाउँ) पनि रहेको छ। उपत्यका बाहिर नुवाकोटमा पनि उपाकू जाने गरिन्छ।
हनुमानढोका दरबार क्षेत्र वरिपरि मनाइने इन्द्रजात्रा एक विशेष पर्व मात्र नभई विभिन्न पर्वहरूको समुच्च पहिचान भएको बुझ्न सकिएको छैन। स्थानीय नेवार समुदायमा ‘येँयाः’ नामबाट प्रसिद्ध इन्द्रजात्रामा कुमारीको रथयात्रा पनि गरिने भएर यसलाई कुुमारी जात्रा पनि भनिन्छ।
अन्य दिनहरूसँग खासै सम्बन्ध नभएको उपाकूू उपत्यका बाहिर पनि यही बेला गरिनु संयोग मात्रै नभएर कुनै विशेष सांस्कृतिक पर्वको छुट्टै अवशेष पो हो कि भनी शंका गर्ने ठाउँ दिन्छ। पशुपति क्षेत्रको इन्द्रसँग खासै सम्बन्ध पाइँदैन तर उपाकू पाइनु विचारणीय कुरा हो।
काठमाडौंमा मनाइने उपाकू झट्ट हेर्दा बौद्ध परम्पराअनुसार देखिन्छ भने पशुपति क्षेत्रको शैव परम्पराअनुसार। उपाकूका अवसरमा हिन्दूबौद्ध दुुवैले देवस्थलको पूूजा गरेको पाइन्छ। अन्यत्र पनि धार्मिक भेद देखिंदैन।
नगर बीच असंख्य देवीदेवताका मन्दिरहरू हुँदाहुँदै पनि सीमा क्षेत्रलाई मात्र छोएर यात्रा गरिनु उपाकूको मूल विशेषता हो। अन्यत्र कतै उल्लेख नपाइने उपाकू मूलतः नेवार संस्कृतिको मौलिक विशेषता हो। तर, नेपाल भाषामा उपाकू शब्दको अर्थ भने खुल्दैन।
उपाकू खास स्थानविशेषमा मात्रै प्रचलित नभएको हुँदा कुनै बेला यो संस्कृतिले व्यापकता पाएको अड्कल गर्न सकिन्छ। त्यसैले पनि यसबारे थप खोज आवश्यक छ।