भोज आयोजना गर्ने नै कोरोना संक्रमित, ७० जनाको स्वाब सङ्कलन
बागलुङ–१० भकुण्डेको गलुवामा छोरीको न्वारनमा भोज गर्ने नै संक्रमित भएको पाइएको छ। न्वारन गर्ने छोरीका बुबा लमजुङबाट आएका थिए। उनलाई संक्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
उनले १ भदौमा छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाई खसी काटेरै भोज खुवाएका थिए। भोजमा पाहुना, आफन्तलगायत ७० जना ‘क्लोज कन्ट्याक्ट’का रूपमा सहभागी थिए।
छोरीको न्वारन गर्न गलुवा पुगेका २३ वर्षका सैनिकलाई ११ भदौमा संक्रमण पुष्टि भएको थियो। त्यसपछि भोजमा सहभागी पण्डित, पाहुना तथा अतिथिसहित ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब डिल्ली आचार्यले जानकारी दिए।
नगरपालिकाले शुक्रबार गलुवा पुगेरै स्वाब सङ्कलन गरेको छ। “कोरोना समुदायमा गइसेकेको अवस्थामा न्वारनमा सचेत व्यक्तिबाटै स्वास्थ्य मापदण्ड नअपनाई भोज गरेको पाइयो”, आचार्यले भने।
संक्रमितका परिवारमा पनि कोरोनाको लक्षण देखिएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ। स्वाब दिनेमध्ये केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुने र घाँटी दुख्ने जस्ता लक्षण देखिन थालेको छ। स्वाब सङ्कलन गरिएका ७० मध्ये न्वारान गरिएकी २२ दिनकी शिशु पनि छिन्।