चितवनमा एकै दिन १०२ जनामा कोरोना सङ्क्रमण, दुईको मृत्यु
शनिबार एकै दिन चितवनका १०२ जनालाई कोरोनाभाइरस सङ्क्रमण देखिएको छ। त्यसैगरी बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ।
जिल्लाबाट नमूना सङ्कलन गरिएकामध्ये शनिबार १२० जनामा सङ्क्रमण देखिएको छ। १८ जना चितवनबाहिरका छन्। एकै दिन यतिधेरै सङ्क्रमित फेला परेको पहिलो पटक हो।
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा शनिबार भेटिएका ६५ संक्रमितमध्ये ६१ जना चितवनका हुन्। त्यस्तै धुलिखेल पठाइएको नमूनाको परीक्षणमा चितवनका १२ जना सङ्क्रमित भेटिएका छन्।
त्यसैगरी भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको राति आएको नतिजामा संक्रमण देखिएका ४३ मध्ये २९ जना चितवनका रहेको उनले जनाकारी दिए।
चितवनमा सङ्क्रमितको सङ्ख्या ६२७ पुगेको छ। तीमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ३६४ जना छन्। त्यस्तै रत्ननगरका ८२, राप्तीका ७६, माडीका ५०, खैरहनीका ४३, कालिकाका नौ र इच्छाकामना गाउँपालिकाका तीन जना छन्।
शनिबारै चितवन मेडिकल कलेजमा उपचार गराइरहेका दुई जना सङ्क्रमितको मृत्यु भएको छ। कोरोना सङ्क्रमणबाट हालसम्म जिल्लामा ११ जनाको मृत्यु भएको छ। तीमध्ये चार चितवनका हुन् भने अन्य उपचारका लागि यहाँ आएका हुन्।
जिल्लाको सरकारी अस्पताल भरतपुर, दुई मेडिकल कलेज, निजी अस्पताल, संस्थागत आइसोलेसन र घरमा पनि सङ्क्रमित राखिएको छ।