जर्मनीमा कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध विरुद्ध प्रदर्शन
जर्मन सरकारले कोरोनाभाइरुस संक्रमण नियन्त्रणका लागि लगाएको विभिन्न प्रतिबन्धको विरोधमा राजधानी बर्लिनमा प्रदर्शन भएको छ। प्रहरीले २०० प्रदर्शनकारीलाई पक्राउ गरेको छ।
त्यहाँ दुई वटा समूहमा प्रदर्शन गरिएको थिया। दुवैमा गरी करीब ३८ हजारको सहभागिता रहेको बीबीसीले उल्लेख गरेको छ।
प्रहरीले पहिलो समूहका प्रदर्शनकारीलाई गिरफ्तार गरेको हो। दक्षिणपन्थी समूहको नेतृत्वमा प्रदर्शन भएको र उनीहरुले ढुङ्गा तथा बोतलहरुबाट आक्रमण गरेको जर्मन अधिकारीहरुको दाबी छ।
पक्राउ परेकाहरुले सुरक्षाका नियमहरुको पालना नगरेको र आफूहरुसँग पक्राउ गर्नुबाहेकको विकल्प नभएको प्रहरीले जनाएको छ। पक्राउअघि सात प्रहरी घाइते भएको बताइएको छ।
उता ब्रान्डेनबर्ग गेट नजिक भएको अर्को प्रर्दशन शान्तिपूर्ण थियो। उक्त प्रदर्शनमा मात्र करीब ३० हजार मानिस सहभागी थिए। उनीहरु वक्ताहरुको भाषण सुनेर फर्किएका थिए।
जर्मनीमा ‘लकडाउन’ हटाइए पनि अन्य सुरक्षाका नियममा कडाइ गरिएको छ। त्यहाँ मास्क नलगाए ५९ डलर जरिवाना गर्ने नियमलाई गत बिहीबारदेखि लागू गरिएको छ। जनसहभागिताका ठूला कार्यक्रम गर्न अर्को वर्षसम्मलाई रोक लगाइएको छ।
जर्मनीमा अन्य युरोपेली देशको तुलनामा कोरोनाभाइरस नियन्त्रित अवस्थामा छ। त्यहाँ अहिलेसम्म दुई लाख ४२ हजार ८२५ जना संक्रमित छन्। तर, अधिकांश निको भइसकेका छन्।
अहिले उपचाररत संक्रमित १५ हजार ९७८ जना छन्। तीमध्ये २४५ जनाको अवस्था गम्भीर छ। संक्रमणबाट नौ हजार ३६३ जनाको मृत्यु भएको छ।