कम्युनिटी शिल्ड कपको उपाधि आर्सनललाई, लिभरपुलका लागि एसियन खेलाडीको महत्वपूर्ण गोल
एफए कपको उपाधि जितेको २८ दिन पछाडि आर्सनलले एफए कम्युनिटी शिल्ड कप पनि जितेको छ। शनिबार राति इंग्लिस प्रिमियर लिग उपाधि विजेता लिभरपुललाई पराजित गर्दै आर्सनलले उपाधि जितेको हो।
निर्धारित ९० मिनेटमा एक–एक गोलको बराबरी भएपछि पेनाल्टीमार्फत् आर्सनलले उपाधि जितेको हो। लिभरपुल आर्सनलसँग पेनाल्टीमा ५–४ गोल अन्तरले पराजित भयो।
पहिलो हाफको १२औं मिनेटमै आर्सनलले अग्रता लिएको थियो। पियारे इमरिकले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। ६० प्रतिशत बल नियन्त्रणमा राखेको लिभरपुलले भने ७३औं मिनेटमा गोल फर्काएको थियो।
लिभरपुलका लागि ६९औं मिनेटमा मैदान छिरेका वैकल्पिक खेलाडी टेकुमी मिनामिनोले गोल गरेका थिए। जापानिज मिडमिल्डर मिनामिनोको गोलबाट बराबरीमा आएको लिभरपुलले थप गोल गर्न सकेन। अग्रता गुमाएको आर्सनलले पनि थप गोल गर्न नसकेपछि खेल पेनाल्टीमा गएको थियो।
लिभपुलका लागि मिनामिनोले पेनाल्टीमा समेत गोल गरे। तर, ब्रेस्टरले प्रहार गरेको बल पोष्टमा लागेर बाहिरिएपछि लिभरपुल ५–४ गोल अन्तरले पराजित हुन पुग्यो।
चेल्सीलाई एफए कपमा पराजित गर्दै उपाधि जितेको आर्सनलले १६औं पटक कम्युनिष्ट शिल्ड कप जितेको छ।
यसअघि लिभरपुलसँग बराबरी १५–१५ पटक उपाधि जितेको थियो। आर्सनल भन्दा बढी म्यानचेस्टर युनाइटेडले २१ पटक यो उपाधि जितेको छ।