तानसेन पुग्ने पर्यटकलाई सार्वजनिकस्थलमै कलधारा
पाल्पाको सदरमुकाम तानसेनमा पर्यटकका लागि कलधारामा खानेपानीको धारा व्यवस्था गरिएको छ ।
पर्यटकका लागि सार्वजनिकस्थलमा खानेपानी समस्या भएपछि नेपाली सेना गोरखदल गणले दुई हजार लिटर क्षमताको खानेपानी ट्याङ्की र कलधारा निर्माण गरेको हो ।
पाल्पा दरबार सङ्हग्रालय र टुँडिखेलमा सार्वजनिकस्थलमै ठूलो क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेसँगै खानेपानीको समस्या हटेको हो ।
तानसेन पर्यटकीय नगरीका रूपमा रहेकाले पर्यटकको आवतजावत भइरहने गर्दछ ।
गोरखदल गणका गणपति सुरज थापाले खानेपानी ट्याङ्की उद्घाटन गर्दै ट्याङ्की निर्माणले सेना र नागरिकबीचको सम्बन्धलाई अझै सुमधुर बनाउन र पाल्पा घुम्न आउने पर्यटकलाई फाइदा पुग्ने बताए ।
तत्कालीन पाल्पाका तैनाथवाला प्रतापशम्शेर जबराको पालामा बनेको कलधारालाई जीर्णोद्धार गरी पर्यटक र सर्वसाधारणलाई पिउने पानीको सहज व्यवास्था भएसँगै स्थानीय बासिन्दा हर्षित भएका छन् ।
सेनाले तानसेनस्थित टुँडिखेलमा पनि एक वर्षअघि नै यस्तै प्रकारको खानेपानी ट्याङ्की निर्माण सम्पन्नपछि त्यस क्षेत्रमा आवतजावत गर्ने पैदलयात्रुलाई खानेपानी सहज भएको स्थानीय बासिन्दा डिलबहादुर रानाले बताए ।