‘याम्बुनेर आउँदो पुस्ताका लागि इतिहास हो'
बिना थिङको कथा संग्रह ‘याम्बुनेर’ भर्खरै सार्वजनिक भएको छ। साहित्यकार थिङको यो तेस्रो कृति हो। यसअघि उनको ‘छुकी’ र ‘रातोघर’ कविता संग्रह प्रकाशित छन्। ‘याम्बुनेर’ कथाकृतिको विषयमा हिमालखबरले गरेको कुराकानीः
कथा संग्रहको नाम ‘याम्बुनेर’ राख्नुभयो। यसको अर्थ के हो ?
तामाङ र खस भाषाको समिश्रत नाम हो ‘याम्बुनेर’। अलि कति नयाँ प्रयोग गरेकी हुँ। ‘याम्बु’ भनेको राजा बस्ने ठाउँ अर्थात काठमाडौं हो। राजा बस्ने ठाउँनेर बसोबास गर्ने किनाराकृत समुदायको कथाहरु भएकाले ‘याम्बुनेर’ नाम राखिएको हो।
यो कथा संग्रहको मुल विषयवस्तु के हो ?
सिमान्तकृत समुदायको दुःख, कष्ट, पीडा र उनीहरुको संघर्ष नै यो पुस्तकको मूल विषय हो। याम्बुको किनारमा र तराईमा बसोबास गर्ने सिमान्तकृत समुदायमाथि भएका विभेद, त्यो समुदायले गरेको संघर्षको अभिव्यक्ति हो। वर्षौंदेखि राज्यबाट किनारीकृत भएर बसेको समुदायको भोगाइ, समयक्रमसँगै समुदायमा आएको परिवर्तन, जीवनबोधका विभिन्न आयाम यसमा छन्।
कथाकृतिले दिने सन्देश के हो ?
यो पुस्तक म हुर्किएको र बाँचेको स्थान–समयको साक्षी हो। राज्यसत्ताबाट जात, धर्म, भाषा, संस्कृति, वर्ग, क्षेत्र वा खास नश्लको आधारमा गरिँदै आएको विभेद र त्यसबाट पहिचानविहीन बन्न पुगेका किनारीकृतहरुको संघर्षको इतिहास हो। त्यसैले यी क्षेत्रका सिमान्तकृत समुदायले आफ्नो पहिचानको लागि गर्नुपरेको संघर्ष आउँदो पुस्ताको लागि इतिहास हो।
यसअघि छापिइसकेका तपाईंका कथाहरुभन्दा फरक यसमा के छ ?
यो संग्रहमा १३ कथाहरु छन्। जसमा नयाँ तथा छापिइसकेका दुवै छन्। यसमा १२ खरी कथा प्रतियोगितामा पहिलो हुन सफल भएको कथा पनि छ। कस्ता कथा छन् भनेर चाँहि पाठकले पढ्नैपर्ने हुन्छ।
कोरोना कहरको वेला पुस्तक बजारमा ल्याउनुभएको छ। पाठकसम्म नपुग्ने डर छैन ?
त्यहि डरले करिब ६ महीना ढिलो गरी बजारमा ल्याएको हो। २०७६ सालमा नै पुस्तक बजारमा ल्याउने तयारी थियो। कोरोनाभाइरसको महामारीको कारण ढिला भयो। मैले पाठकहरुलाई राम्रो कथा दिन सकेँ भने खोजेर पनि पढ्नुहुन्छ भन्ने लाग्छ।
महामारीको जटिल समय भएकाले हामीले औपचारिक सार्वजनिक कार्यक्रम गरेनौं। अनौपचारिक रुपमा नै सार्वजनिक गरेर बजारमा पु¥याएका छौं। पहिलाको जस्तै सजिलै गरी भन्न साथ पाठकले पाउन नसके पनि केही समयको पर्खाइमा अनलाइन माध्यामबाट पनि अर्डर गरेर पाउनसक्ने अवस्था भने पक्कै छ।
कविता संग्रह र कथा संग्रह बजारमा ल्याउँदा के फरक महशुस भयो ?
कविता संग्रह ल्याउँदा र कथा संग्रह ल्याउँदा त्यस्तो फरक अनुभूति त छैन। किनभने सिर्जनामा उत्तिकै मेहेनत गर्नुपर्छ। पाठकको अपेक्षालाई न्याय गर्नका लागि विषयवस्तुमा सचेत हुनैपर्छ। कवितामा भने लेखिने बिम्ब बुझ्ने चेत भएका वर्गका लागि लक्षित हुनुपर्छ।
त्यसैले कविताको तुलनामा कथाको पाठकको दायरा फरक हुन्छ। आममान्छेले सजिलै बुझ्ने भनेको आख्यान नै हो। कविताको पाठक सीमित हुने हुँदा प्रतिकृया पनि सीमित आउँछ। त्यसैले यसपटक प्रतिकृयाको दायरा अलिकति फराकिलो रुपमा आउँछ भन्ने हो।
किन कथा लेख्नुहुन्छ ?
कविता बिम्बमा लेख्नुपर्छ। त्यसैले मलाई लाग्यो हाम्रो (तामाङ) समुदायका कथाहरु कविता मार्फत मात्रै पोख्न नसक्ने रहेछु। कविताको पाठक पनि कथाको तुलनामा सिमित हुन्छन्। त्यसैले मलाई अलि फैलिएर, विस्तृतमा पोखिन मन लागेर कथा लेख्न थालेँ।
कविता राम्रोसँग लेख्न सक्नुहुन्छ कि कथा ?
त्यो भन्ने जिम्मा पाठकको हो। म दुवै क्षेत्रमा बराबर नै कलम चलाउँदै आएको छु। तर, कुनमा उत्कृष्ट छु भनेर स्वयम् मूल्याङ्कन गरेको छैन। कविता संग्रह र कथा संग्रह दुवै बजारमा छन्। कुनमा राम्रो छु छुट्याउने जिम्मा पाठकलाई छोडेकी छु।