समुदायस्तरमा कोरोना परीक्षणको तयारी
धनगढी उपमहानगरपालिकाले समुदाय स्तरमा कोरोना परिक्षण गर्ने तयारी गरेको छ। नगरपालिकाले मापदण्ड बनाएर आइतबादेखि समुदाय स्तरमा परीक्षण गर्ने तयारी गरेको उपमहानगर प्रमुख नृपबहादुर वडले बताए।
“समुदायमा सबैको कोरोना परीक्षण गर्नु आवश्यक छैन, संक्रमितका परिवार र बढी जनसम्पर्कमा रहने ब्यक्तिबाट नमुना छनोट विधीबाट स्वाब संकलन गरिनेछ”, उनले भने।
धनगढीमा पाँच दिन थप निषेधाज्ञा गरी समुदाय स्तरमा कोरोना परीक्षण गरिने नगरप्रमुख वडले बताए। उनले विस्तारै परीक्षणको दायरा बढाउँदै लगिने जानकारी दिए।
धनगढीमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि संक्रमितको संख्या बढ्दै गएको छ। उपमहानगरमा संक्रमण पुष्टि भएका झण्डै २२ प्रतिशत भन्दा बढी संक्रमित स्थानीय छन्। धनगढीमा संक्रमितको संख्या ५१ पुगेको धनगढी उप–महानगरपालिकाले जनाएको छ।