क्वारेन्टिनमा रहेका चेन्नई सुपर किङ्सका १३ जनालाई कोरोना संक्रमण
महेन्द्रसिंह धोनी कप्तान रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) टीम चेन्नई सुपर किङ्सका एक खेलाडी र १२ कर्मचारीसहित १३ जनालाई कोरोनाभाइरस संक्रमण भएको छ। आईपीएलको नयाँ सिजनका लागि टीम युएई पुगिसकेको छ।
कोराना संक्रमित खेलाडीको नाम सार्वजनिक गरिएको छैन। संक्रमणबारे टीमको तर्फबाट आधिकारिक जानकारी पनि आइनसकेको दैनिक भाष्करले उल्लेख गरेको छ।
तर, संक्रमित खेलाडी भारतीय भएको र उनी तीव्र गतिका बलर भएको आशंका गरिएको छ। चेन्नाईको टीममा चार जना तीव्र गतिका भारतीय बलर छन्। उनीहरु शार्दूल ठाकुर, दीपक चाहर, केएम आसिफ र मोनू कुमार हुन्।
त्यसबाहेक टीम व्यवस्थापनका वरिष्ठ अधिकारी र उनको पत्नीलाई संक्रमण भएको छ। चेन्नईको सामाजिक सन्जाल व्यवस्थापन टीमका दुई सदस्यलाई पनि संक्रमण भएको जनाइएको छ।
यसपटक आईपीएल १९ सेप्टेम्बरबाट दुबईमा शुरु हुँदैछ। चेन्नईको टीम २१ अगष्टमा दुबई पुगेको थियो। त्यसपछि सात दिनका लागि पूरै टीम क्वारेन्टिनमा थियो।
चेन्नईले शुक्रबारबाट अभ्यास शुरु गर्ने योजना थियो। तर, खेलाडी र कर्मचारी संक्रमित भएपछि टीम अरु सात दिन क्वारेन्टिनमा रहने भएको छ। त्यसपछि चौथो पटक परीक्षण हुनेछ। उक्त रिपोर्ट नेगेटिभ आए मात्र खेलाडीले अभ्यास थाल्नेछन्।