कोरोना अपडेट: ज्यान गुमाउनेमा ३१ देखि ६० वर्ष उमेरका सबभन्दा धेरै
मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये अधिकांश ३१ देखि ६० वर्ष उमेर समूहका रहेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको १२ भदौसम्मको तथ्यांक अनुसार मुलुकमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ। त्यसमध्ये सबभन्दा धेरै ३१ देखि ६० वर्ष उमेर समूहका ९७ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
यो कोरोनाबाट मृत्यु भएकाहरूको संख्यामध्ये झण्डै आधा हो। ९७ जनामध्ये सबैभन्दा धेरै ४१ देखि ५० वर्षका ४२ जना र ५१ देखि ६० वर्षका ३८ जना छन्। त्यस्तै ३१ देखि ४० वर्षका १७ जनाको कारोनाका कारण ज्यान गएको छ।
यसपछि कोरोनाबाट मृत्यु हुनेहरूमा ६१ वर्षदेखि माथिका ७७ जना छन्। ७७ जनामध्ये सबैभन्दा धेरै ६१ देखि ७० वर्षसम्मका ४० जना, ७१ देखि ८० वर्षका २६ जना र ८० वर्षभन्दा माथिका ११ जनाको मृत्यु भएको छ।
कोरोका कारण ज्यान गुमाउनेमा ३० वर्ष मुनिका व्यक्तिको संख्या २१ जना छ। २१ जनामध्ये २१ देखि ३० वर्ष उमेर समुहका १२ जना, ११ देखि २० वर्षका ५ जना र १० वर्ष मुनिका ४ जना बालबालिकाको कारोना संक्रमणबाट मृत्यु भएको छ।
यसरी कोरोनाबाट मृत्यु हुनेहरुमध्ये अधिकांश दीर्घ रोगीहरू छन्। विज्ञहरूले दिर्घ रोगीहरू कोरोना संक्रमणको उच्च जोखिममा भएकाले उनीहरूलाई विशेष हेरचाह सहितको स्वास्थ्य सुविधा चाहिने बताउँदै आइरहेका छन्।
मुलुकमा शुक्रबारसम्म कोरोनाका कारण कुल ३६४५६ जना व्यक्ति संक्रमित भएका छन् भने २०२४२ जना निको भइसकेका छन्। यस्तै कुल ३६४५६ संक्रमितमध्ये १६०१९ सक्रिय संक्रमित छन्।
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।