६४९ स्थानीय तहमा पाँच/पाँच शय्याका कोरोना अस्पताल बन्ने, स्वास्थ्य सामग्री खरीद गर्न रु. ६४ करोड निकासा
स्वास्थ्य मन्त्रालयले १२ भदौमा अस्पताल नभएका ६४९ स्थानीय तहमा तत्काल पाँच/पाँच शय्याको अस्पताल बनाउने निर्णय गरेको छ।
स्वास्थ्यमन्त्री स्तरीय उक्त निर्णय अनुसार ती अस्पतालमा तत्काल कम्तीमा एक जना एमबीबीएस चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी रहने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ।
शुक्रबार भएको उक्त निर्णय अनुसार यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन्। कुन ठाउँमा अस्पताल सञ्चालन गर्ने भन्ने बारेमा निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाई दिइएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६४९ स्थानीय तहमा हेल्थ पोष्ट र प्राथमिक स्वास्थ्य केन्द्र मात्र भएकाले तिनीहरूलाई स्तरोन्नति गरेर पाँच शय्याको अस्पताल बनाउने निर्णय भएको बताए।
डा. गौतमका अनुसार मुलुकभरका ७५३ स्थानीय तहमध्ये १०४ वटामा सरकारी अस्पताल छन्, भने बाँकीमा हेल्थ पोष्ट र प्राथमिक स्वास्थ्य केन्द्र मात्र छन्।
“अहिले काेरोनाका कारण संक्रमित बिरामी बढेका छन्। भएका अस्पतालहरू बिरामीले भरिन थालेका छन्” उनले भने, “त्यसैले स्थानीय तहबाटै भएका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्ने निर्णय भएको हो।”
स्वास्थ्य मन्त्रालयको शुक्रबारको उक्त निर्णय अनुसार केही निजी र सामुदायिक अस्पताललाई कोभिड अस्पतालको रूपमा व्यवस्थापन गरिने भएको छ।
यस्तै स्वास्थ्य मन्त्रालयले कोरोनासँग सम्बन्धित आवश्यक उपकरण तथा स्वास्थ्य सामग्री खरीदका लागि शुक्रबार रु.६४ करोड रकम समेत निकासा गरेको छ।