कोरोना कत्थक
अचेलका हरेक दिउँसो सुबिमा श्रेष्ठ (४३) ललितपुर, सातदोबाटोस्थित आफ्नो घरको बैठक कक्षमा भारतको शास्त्रीय नृत्य ‘कत्थक’ का लागि तयार हुन्छिन् । तर, पहिले जस्तो उनका सामु शिष्यहरुले सशरीर उपस्थिति जनाउँदैनन् । कोभिड–१९ ले सबै कुरालाई भर्चुअल बनाइदिएको छ ।
सुबिमा अनलाइन कक्षाका लागि ल्यापटप र स्पिकरहरु मिलाउन थाल्छिन् । एकैछिनमा तबला बजेको धुन कोठाभरि फैलिन्छ । उनी आफ्नो ल्यापटप स्क्रिनबाट नर्तकीहरुलाई सूक्ष्म अवलोकन गर्छिन् ।
“यतिबेला अरु सबै कुरा अनलाइनमा सम्भव छ भने नृत्य किन हुन सक्दैन ?” सुबिमालाई यही प्रश्नले अनलाइन कत्थक कक्षा गर्न प्रेरित गरेको हो । सुबिमा गएको १३ वर्षदेखि यस क्षेत्रमा क्रियाशील छन् ।
देशभर घोषणा गरिएको बन्दाबन्दी, निषेधाज्ञाले आर्थिक र मानसिक दुवै हिसाबले चुनौतीपूर्ण बनिरहेको छ । यो अनलाइन कक्षा पनि नभएको भए आफू र स्टुडियो धान्ने के विकल्प उपलब्ध हुनसक्थ्यो भन्नेमा उनीसँग प्रष्ट जवाफ छैन ।
जब चार महीना लामो बन्दाबन्दी अन्त्य भयो, उनले सामाजिक दूरी कायम गरेर नृत्य कक्षा पुनः सञ्चालन गर्न थालिन् । तर, फेरि आइपुग्यो निषेधाज्ञा । उनी कक्षा बन्द गर्न बाध्य भइन् ।
कत्थकमा नर्तकहरु कथावाचक हुन् जो हातका इशारा, खुट्टाको कला र अनुहारको हाउभाउ मार्फत कथा सुनाउँछन, संवाद गर्छन् । तर इन्टरनेटको खराबी र प्राविधिक कठिनाइका कारण अनलाइनबाट यी इशारा र चाल सिकाउनु र मूल्यांकन गर्नु कठिन छ ।
थुप्रै चुनौती बावजूद सुबिमा लगनशील छिन् । “मेरा विद्यार्थीहरुको आँखामा देखिने ओज र कलाप्रतिको कटिबद्धता मेरा लागि गजबको प्रेरणा स्रोत बनिरहेको छ”, उनी भन्छिन् ।
सुबिमालाई आशा छ,, महामारी अलि बिसेक भएपछि उनी फेरि मञ्चमा फर्किनेछिन र आफ्नो कला, प्रशिक्षणमार्फत दर्शकलाई पुनः कत्थक कथा सुनाउनेछिन् ।