बर्तन बनाउनेको व्यथा
कोभिड–१९ बाट जोगिन लगाइएको बन्दाबन्दी चार महीनापछि साउनको पहिलो साता खोलिए पनि निषेधाज्ञा जारी रहेकोले महोत्तरीको जलेश्वरमा माटोले बनाइएका सामग्री बनाउनेहरु समस्यामा छन् ।
तीज तथा मिथिलाञ्चलमा मनाइने चौथीचाँद पर्वको लागि माटोको भाँडो (कन्तरी) मा दही राख्ने परम्परा छ । माटोको भाँडो बनाउन कुम्हार (पण्डित) जातिका महिला तथा पुरुषहरु दिनरात खटिन्छन् । तर, अहिले सामान बेच्ने अवस्था पहिले जस्तो नभएको जलेश्वरकी शोभा पण्डित बताउँछिन् ।
सानो माटोको भाँडा २० रुपैयाँ तथा ठूलो भाँडा ४० रुपैयाँसम्ममा बिक्री हुने गर्छ । बजारमा यी सामान बिक्री गर्न समस्या भएकाले गाउँटोल डुलेरै ग्राहकको घरसम्म पुर्याउने गरेको उनले बताइन् ।
जलेश्वर बजारमा माटोको कन्तरी, दियो, ढकना, घैँटो, तौला, कुलियासहितका सामग्री नियमित रुपमा बेच्ने २० परिवार छन् ।
यी समुदायका महिला तथा पुरुष सोमबार र बिहीवार जलेश्वर हाटबजारमा माटोको सामग्री बेच्ने गर्छन् । यो हाटमा दुई दशक अघिसम्म माटाका सामग्रीको छुट्टै बजार नै लाग्थ्यो । तर, यो अहिले एउटा कुनामा खुम्चिएको छ । बन्दाबन्दीमा त त्यो पनि सम्भव छैन ।
बजारमा प्लास्टिक तथा अन्य धातुका सामान प्रशस्त आए पनि पर्व त्यौहारका लागि माटोले बनेका सामग्री नै अहिलेसम्म स्थानीयको प्राथमिकतामा परेको छ । यसले शोभा जस्ता साना व्यवसायीलाई थोरै भए पनि राहत दिएको छ।
माटोका सामग्री बनाउन सही माटो छनाेट र सही आकृति बनाउन निकै मिहिनेत गर्नुपर्छ । त्यसैले नयाँ पुस्तामा यी सामान बनाउन खासै रुचि देखिंदैन ।
‘अबको पुस्ताले माटोका सामान बनाउने सीप सिके पनि अभ्यास गर्न रुचाएका छैनन्’, शोभाको भनाइ छ ।
राष्ट्रिय जनगणना २०६८ मा कुम्हार जातिको कुल जनसंख्या ६२ हजार ३९९ छ ।