विजयराम चमारको शंकास्पद मृत्युको निष्पक्ष छानविन गर्न माग
गैर सरकारी संस्था समता फाउण्डेसनले रौतहट जिल्लाको गरूडा नगरपालिका–८ का विजयराम चमारको प्रहरी हिरासतमा चरमा यातना दिएका कारण भएको मृत्युले दलित समुदाय विरूद्ध भइरहेको हिंसा, उत्पीडन र विभेदलाई छर्लङ्ग पारेको भन्दै दोषीलाई कारवाही गर्न माग गरेको छ।
गएको ३२ साउनमा सोही ठाउँका निरञ्जनरामको हत्यामा संलग्न भएको विषयमा अनुसन्धान गर्नका लागि प्रहरी कार्यालय गरूडाले विजयरामलाई हिरासतमा लिएको थियो। समता फाउण्डेसनले हिरासतमै विजयलाई चरम यातना दिएका कारण मृत्यु भएको भन्दै सत्यतथ्य छानविन गर्न माग गरेको हो।
हिरासतमै चमारलाई चरम यातना दिइएको र यातनाकै कारण स्वास्थ्य गम्भीर भएपछि नेशनल मेडिकल हस्पिटल वीरगञ्जमा भर्ना गरिएको र उपचारकै क्रममा ११ भदौ राति उनको मृत्यु भएको समताले जनाएको छ।
“यो घटना संविधानले प्रत्याभूत गरेको मौलिकहक, जीवन माथिको अधिकार, यातना विरूद्धको हक, स्वच्छ न्याय सम्बन्धी हक तथा मानव अधिकार सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्तावेजमा उल्लिखित व्यवस्था विरूद्ध छ,” समता फाउण्डेसनले भनेको छ, “बारम्बार दलित समुदाय विरुद्ध भएका यस प्रकारका घटना हुन नदिन समता फाउण्डेसन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ।”
संस्थाले नेपाल कोभिड–१९ महाब्याधिले आक्रान्तबन्दै गएको र सुरक्षाका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाबीच मानवअधिकार उल्लङ्घनका घटनाहरू देशभर बढ्दै गएको जनाएको छ।