चार अन्तर्राष्ट्रिय उडानबाट २२८ नेपाली भित्रिए, १२७ जना बाहिरिए
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ भदौमा (शुक्रबार) चार वटा अन्तर्राष्ट्रिय उडान भएको छ। यस्तो उडानबाट २२८ जना नेपाली यात्रु स्वदेश भित्रिएका छन् भने १२७ जना बाहिरिएका छन्।
विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार हिमालय एअरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट १५६ जना यात्रु ल्याएको छ भने सो जहाज जाँदा ५७ केजी कार्गो पनि लिएर गयो।
शुक्रबार नै कतार एअरवेजले दोहाबाट ७२ जना यात्रु नेपाल ल्याएको छ। कतार एअरवेजको जहाज फर्कदा १२७ यात्रु लिएर फर्किएको विमानस्थल कार्यालयले जारी गरेको उडान विवरणमा उल्लेख छ। हिमालय एयरलाइन्सले चीनको चोङचिङबाट ७०५६ केजी कार्गो पनि ल्याएको छ।
विमानस्थलबाट भएको शुक्रबारको आन्तरिक उडानमा सिम्रिक र कैलाश एयरको हेलिकप्टर गोरखा गएको उल्लेख छ। विमानस्थल कार्यालयका अनुसार शनिबार सिंगापुरको सिल्क र कुवेतको जजिराले नेपाल उडान गर्ने छन्।
यस्तै, नेपाली वायुसेवा हिमालय मलेसिया र चीन जाने भएको छ भने नेपाल एअरलाइन्स पनि मलेसिया र कुवेत जाने भएको विमानस्थलको उडान तालिकामा उल्लेख छ ।