अन्तर्राष्ट्रिय लगानी सम्मेलन : ७७ परियोजना ‘शो केश’मा
सरकारले आयोजना गर्ने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ७७ वटा परियोजनालाई ‘शो केश’ मा राखिने भएको छ ।
१५ र १६ चैतमा काठमाडौँमा हुने सम्मेलनमा सरकारको तर्फबाट ५० र निजी क्षेत्रका तर्फबाट २७ वटा आयोजना समावेश गरिएको छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको लगानी बोर्डले जानकारी दिएको छ ।
लगानी सम्मेलनमा विभिन्न मुलुकका ६०० बढी प्रतिनिधि तथा लगानीकर्ता सहभागी हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।
स्वदेशभित्रबाट पनि सहभागिताका लागि उत्साहपूर्ण चासो व्यक्त भएको छ । यस्तै विभिन्न देशमा रहेका गैरआवासीय नेपालीसमेत सहभागी हुनेछन्। उनले स्वदेश तथा विदेशबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए ।
अर्थमन्त्री डा युवराज खतिवडाले सम्मेलनका क्रममा एक दर्जनजति परियोजनाका समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी दिए । ऊर्जा, पर्यटनजस्ता क्षेत्रसँग जोडिएका परियोजनाका प्रवद्र्धकसँग उक्त समझदारी हुने र थप विवरण भने बुधबार सार्वजनिक गरिने उनको भनाइ छ ।
सम्मेलनमा विदेशी लगानीकर्ताका अलावा विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता बैंक तथा वित्तीय संस्थाको समेत सहभागिता रहनेछ ।
सम्मेलनमा सहभागी हुने पाहुना आउनेक्रम शुरु भएको छ । बिहीबार धेरैजसो सहभागी काठमाडौँ आइपुग्नेछन् । नेपाल आउने हरेकजसो उडानमा सहभागी आउन थालेका छन् ।
सम्मेलनमा सहभागीबीच साइड लाइन बैठक, अन्तक्र्रिया जस्ता कार्यक्रम पनि विभिन्न संस्थाले आयोजना गरेका छन् । यसले पनि थप उत्साह बढाएको प्रमुख कार्यकारी अधिकृत अधिकारीको भनाइ थियो ।
सम्मेलनको तयारीका बारेमा चासो व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागीलाई प्रदान गर्ने आतिथ्यतामा कुनै पनि कमी कमजोरी हुन नदिने गरी व्यवस्था मिलाउन निर्देशन दिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए । प्रधानमन्त्री बोर्डको अध्यक्ष रहने व्यवस्था छ ।
यस अघि गोर्खा भूकम्पपछि २०७२ साल असार १० गते लगानी सम्मेलन भएको थियो ।