हेलमेटमा लुकाएर ल्याएको लाखौँ रुपैया बरामद
भारतबाट अवैध रुपमा हेलमेटमा लाखौँ रुपैया लुकाएर ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल रौतहटको एउटा टोलीले नेपाल भारत सिमा नजिकैबाट हेलमेटमा लुकाएर नेपाल भित्र्याइरहेको अवस्थामा शुक्रवार एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ईशनाथ नगरपालिका २ औरैयाका लक्ष्मण साहका १७ वर्षका छोरा मनोजकुमार साह रहेका छन्। बीआर ३० टी ९२०८ नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल रौतहटको एउटा टोलीले सिमा नजिक ईशनाथ नपा ९ लौतनवा टोलको बाटोमा रोकेर चेकजाँच गरेको थियो।
चेकजाँच गर्दै जाँदा टाउकोमा लगाइरहेको हेलमेटमा शंका लागेपछि खोल्न लगाएर हेर्दा हेलमेटबाटै ६ लाख ४० हजार नेपाली रुपैया बरामद भएको छ।
बरामद रकम, मोटरसाइकल र स्रोत नखुलेको रकम सहित पक्राउ परेका मानिसलाई कारबाही गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बल रौतहटले अगाडि जनाएको छ।
बिहीवार पनि सोही ठाउँमा सशस्त्र प्रहरीले स्रोत नखुलेको साढे २८ लाखभन्दा बढी रकम सहित एक जनालाई पक्राउ गरेको थियो।
नेपाल भारत सीमा बन्द भएर कारोबार धेरै हदसम्म बन्द भएपछि नेपालतिर थन्किएको भारतीय रुपैया भारततिर लैजाने र भारततिर थन्किएको नेपाली रुपैया नेपालतिर ल्याउने प्रवृत्ति बढेको छ। दुवैतिरका व्यापारीहरुले विभिन्न माध्यमको प्रयोग गरी रकम ल्याउने र लैजाने गरेका हुन्।