स्वास्थ्यका कारण राजीनामा दिंदै जापानका प्रधानमन्त्री
जापानमा लगातार सबैभन्दा लामो समय सरकारको नेतृत्व गरेका प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्यका कारण पदबाट राजीनामा दिंदैछन्।
जापानको राष्ट्रिय प्रशारण संस्था, एनएचकेका अनुसार प्रधानमन्त्री अबेले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर राजीनामा दिनेछन्।
सन् २०१२ देखि लगातार प्रधानमन्त्री रहेका अबेले जापानको इतिहासमै सबभन्दा बढी समय लगातार सरकार प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।
त्यसअघि पनि सरकारको नेतृत्व गरेका अबेले स्वास्थ्यकै कारण सन् २००७ मा एक वर्षमै पद छाडेका थिए। अबे पेटसम्बन्धी गम्भीर रोगबाट पीडित रहँदै आएका थिए।
एनएचकेले आफ्नो अनलाइन पोर्टलमा उल्लेख गरे अनुसार अबे गत साता मात्र दुई पटक अस्पताल पुगेका थिए।
जापानमा आएको प्राकृतिक विपत्ति र कोरोनाभाइरस संक्रमणको महामारीका कारण अबेले १४७ दिनसम्म अनवरत काम गरेको एनएचकेले आफ्नो समाचारमा उल्लेख गरेको छ।