बालबालिकामा कोरोनाभाइरस: 'विरलै गम्भीर संक्रमण, मृत्युदर पनि निकै कम'
बालबालिकामा कोरोनाभाइरसको गम्भीर संक्रमण 'विरलै' भएको अनुसन्धानबाट देखिएको छ। बेलायतमा प्रकाशित एक अनुसन्धानका अनुसार, बालबालिकामा कोरोनाको असरबारे भएको अध्ययनबाट उनीहरुमा भाइरसको गम्भीर संक्रमण थोरै भएको थाहा भएको हो। यति मात्र होइन, कोरोनाबाट बालबालिकाको मृत्युदर पनि निकै कम भएको पाइएको छ।
यो अनुसन्धान कोरोनाभाइरसको कारण बेलायतका १३८ वटा अस्पतालमा भर्ना गरिएका बालबालिकाबारे गरिएको हो। बीएमजे मेडिकल जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार, कोरोना संक्रमण भएर अस्पतालमा भर्ना गरिएका बालबालिकामध्ये ६ जनाको मृत्यु भएको छ। यो संख्या कोरोना संक्रमणबाट बेलायतमा भएको मृत्युको कुल तथ्यांकमध्ये एक प्रतिशत मात्र हो। बेलायतमा हालसम्म संक्रमणबाट ४१ हजार ४७७ जनाको मृत्यु भएको छ।
अध्ययनबाट के पाइएको छ भने, जुन बालबालिकाको मृत्यु कोरोनाबाट भयो, उनीहरु पहिलेदेखि नै कुनै न कुनै अन्य गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका थिए।
अनुसन्धान टोलीकाे नेतृत्व गरेका चिकित्सकमध्ये एक बेलायतको यूनिभर्सिटी अफ लिभरपुलमा आउटब्रेक मेडिसिन एन्ड चाइल्ड हेल्थका प्राध्यापक मेलकम सेम्प्ले भनेका छन्, "यो अनुसन्धानबाट ढुक्क भएर के भन्न सकिन्छ भने, बालबालिकामा कोभिड-१९ ले ठूलो हानि गरिरहेको छैन।"
उनी थप भन्छन्, "यस शोधबाट के सन्देश जान्छ भने, बच्चाहरुमा यो भाइरस संक्रमणले गम्भीर रुप विरलै लिन्छ। र, यसबाट मृत्यु पनि असाध्यै कम देखियो। यसैले अभिभावक आश्वस्त हुन सक्छन्।"
कोरोनाभाइरस संक्रमणको विश्वव्यापी तथ्यांक हेर्दा यस महामारीले विश्वरभरका एक वा दुई प्रतिशत बालबालिका र किशोरहरुलाई मात्र प्रभावित गरेको छ। बालबालिकामा संक्रमणका जुन घटना देखिएका छन्, तिनमा धेरैजसोलाई सामान्य लक्षण छ वा कुनै पनि लक्षण छैन।
यस अनुसन्धानका लागि प्राध्यापक मेलकमको टोलीले १९ वर्ष मुनिका ६५१ बालबालिकाबारे तथ्यांक संकलन गरेको थियो। यी बालबालिकालाई १७ जनवरीदेखि ३ जुलाईको अवधिमा अस्पतालमा भर्ना गरिएको थियो। - बीबीसी
* शीर्षक परिवर्तन गरिएको छ - सं