विदेशबाट उपहार पठाइदिने भन्दै सामाजिक सञ्जाल मार्फत रकम ठगी, तीन जना पक्राउ
सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीय राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भई हाल मकवानपुको हेटौंडा उपमहानगरपालिका–४ बस्ने सत्कार लुइँटेल छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार, उनीहरुले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिबाट ठूलो रकम ठगी गरेका हुन्। उनीहरुले भरतपुर महानगरपालिका–२० शारदानगर बस्ने आरती रानालाई पटकपटक गरी रु. २ लाख ५३ हजार २४० र मोरङको लेटाङ नगरपालिका–९ बस्ने विष्णुकुमारी राईलाई रु. २ लाख ७५ हजार ६४५ ठगी गरेको गुरुङले जानकारी दिए।
उनीहरुले सामाजिक सञ्जालको प्रयोग गरी विदेशीको फोटो राखी नक्कली खाता खोली महिलालाई साथी बनाई इटाली, अमेरिका, अष्ट्रेलिया, सिङ्गापुर, फ्रान्स जस्ता देशबाट बोलेको भनी उपहार पठाइदिने भनी पठाउँदा लाग्ने खर्च मागेर ठगी गरेको प्रहरीले जनाएको छ। सोही मुद्दामा अन्य ६ जना फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक गुरुङले बताए।
प्रहरीका अनुसार, पक्राउ परेकाहरुबाट प्रेमबहादुर राना, सन्जना पाठकको नामको यातायात व्यवस्था कार्यालय गण्डकीको नक्कली सवारी चालक अनुमतिपत्र बरामद गरिएको छ। सो परिचय पत्रका आधारमा रकम निकाली उक्त रकम सत्कार लुइँटेल, रामकुमार तामाङ, निशाकुसुम भट्टराई, लोकप्रसाद भूर्तेल, मञ्ज केसी र तोजबहादुर केसीको खातामा पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ।
उनीहरुलाई जिल्ला अदालत चितवनमा ठगी र लिखत सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए।