सुशान्त प्रकरण: आफूलाई महेश भट्टको प्रेमिका भनिएकोमा रिया चक्रवर्तीको आपत्ति
सुशान्त सिंह राजपुत घटनामा पछिल्लो समय भारतीय चलचित्र क्षेत्र तरंगित छ। बलिउडमा व्याप्त 'नेपोटिज्म' (परिवारवाद) का कारण सुशान्तले मृत्युवरण गर्नुपरेको भन्दै स्टारका सन्तान र घरानिया फिल्म निर्माता र निर्देशकसँग निकट सम्बन्ध राख्नेहरु आलोचनाको तारोमा परिरहेका छन्। इन्टरनेटका सामाजिक सञ्जालमा अभद्र टीका-टिप्पणीको सीमा नै छैन।
सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले पनि त्यस्तै निकटतामा कारण आलोचना र चरम गालीगलौजको सामना गर्नुपरेको छ। खासगरी बलिउडका भट्ट परिवारसँग उनको सामीप्यका कारण आलोचनाको आधार बन्यो।
यो प्रकरणले त्यतिवेला झन् अर्को मोड लियो, जब रिया र निर्माता/निर्देशक महेश भट्टबीचको ह्वाट्सएप च्याट सार्वजनिक भयो। उक्त भाइरल च्याटबाट के बुझाइ बन्न पुगेको थियो भने, रिया आफैंले सुशान्तलाई छाडेकी थिइन्। जसमा महेश भट्टले उक्त कदममा सहयोग गरेको च्याटमा झल्किन्छ।
यस विषयमा हालै रियाले खुलेर आफ्नो कुरा राखेकी छिन्। भारतीय सञ्चारमाध्यमहरुसँगको कुराकानीमा उनले सुशान्तलाई आफूले छोडेको सत्य भए पनि त्यो निर्णय गर्ने वेला आफू निकै उदास रहेको बताएकी छिन्। यसका साथै सुशान्तकी बहिनी फ्लाटमा आउन लागेकाले आफूलाई त्यहाँबाट जानका लागि भनिएको पनि रियाले बताएकी छिन्।
सुशान्त मुम्बई महाराष्ट्रस्थित फ्लाटमा बस्दै आएका थिए, जहाँ १४ जूनमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएका थिए।
रियाका अनुसार, ८ जूनमा आफ्नो थेरापी सेसन थियो। उनलाई उक्त थेरापी आफ्नो घरमा गर्न मन थिएन। तर, सुशान्तले उनलाई आफ्नो फ्लाटमा उक्त सेसन गर्न दिएनन्। त्यो कुरा आफ्नो मन टुटेको रियाले बताएकी छिन्।
उक्त घटनापछि आफूले महेश भट्टसँग कुरा गरेकी थिइन्। त्यसरी कुराकानी गर्ने आफ्नो निर्णयलाई उनले मनासिव ठानेकी छिन्। उनले भनेकी छिन्, 'के मन टुट्दा म कसैसँग सरसल्ला लिन सक्दिनँ ?'
रियाले महेश भट्टलाई आफ्नो पिता समान बताएकी छिन्। उनका अनुसार, हरेक च्याटमा भट्टले उनलाई 'छोरी' सम्बोधन गर्थे। तर, आफूलाई उनै भट्टको प्रेमिका भनिएकोमा उनी रुष्ट छिन्।
८ जूनको ह्वासएप च्याटमा रियाले महेश भट्टलाई आफ्नो मन टुटिसकेको बताएकी थिइन्। उनले सुशान्तले आफूलाई घर जान भनेको पनि भट्टलाई भनेकी थिइन्। रियाका अनुसार, आफूमाथि परेको समस्या उनले भट्टलाई बताएकी थिइन्।
रियाको भनाइमा महेश भट्टले उनलाई हिम्मत जुटाउन भन्दै सहानुभूति दिएका थिए। भट्टले उनलाई भनेका थिए, 'आफ्नो पिताबारे सोच्नू, बलियो बन्नू।' भट्टले अब जिन्दगीमा अगाडि बढ्न पनि भनेका थिए।
सुशान्तको मृत्यु प्रकरणका उनका पिताले रिया विरुद्ध प्रहरीमा उजुरी पनि दर्ता गरेका छन्। सुशान्तका पिताले छोराको ब्याङ्क खातामा भारु १७ करोड रहेको र रियाले त्यो रकमबाट आफूखुशी खर्च गरेको आरोप लगाएका छन्। सुशान्तको मृत्यु घटनामा भारतीय सीबीआईले अनुसन्धान गरिरहेको छ। - एजेन्सी