स्याङ्जामा १८ भदौसम्मका लागि थपियो निषेधाज्ञा
स्याङ्जामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक साताका लागि थपिएको छ। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए।
छिमेकी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेकाले जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयले केही खुकुलो हुने गरी पुनः एक साता निषेधाज्ञा थप गरिएको प्रजिअ क्षेत्रीले बताए।
बैठकले एम्बुलेन्स र शव बाहन बाहेक अन्य अत्यावश्यक सवारी साधनहरु खाद्य सामग्री, औषधि, दूध, इन्धन बोक्ने सवारी साधन, कूतनीतिक नियोगका सवारी साधन, प्रेस पास भएका सवारी साधन बिहान ६ देखि राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने निर्णय गरेको छ। त्यस्तै, कर्मचारी परिचयपत्रका आधारमा कर्मचारीका सवारी साधन बिहान ९ देखि १० बजे र बेलुका ५ देखि ६ बजेसम्म सञ्चालन हुन पाउने प्रजिअ क्षेत्रीले बताए।
निषेधाज्ञाको अवधिभर सार्वजनिक यातायात र निजी सवारीसाधन जिल्लाभित्र र अन्तर जिल्लामा सञ्चालन गर्न पाइने छैन।
अत्यावश्यक उपभोग्य खाद्यान्न पसल, तरकारी फलफूल, डेरी र माछा मासु पसलहरु बिहान ६ देखि ९ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरी खोल्न दिने निर्णय भएको प्रजिअ क्षेत्रीले बताए। निर्माण सामग्रीका पसल तथा ब्याङ्कहरुलाई स्वास्थ्यसम्बन्धी आवश्यक मापदण्ड पूरा गरेर मात्रै सेवा प्रवाह गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ।