कोरोनाबाट मृत्यु भएकाको शव परिवारलाई दिने डीसीसीएमसी मोरङको निर्णय
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मोरङले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव अन्त्येष्टि गर्न परिवारलाई दिने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणबाट मृत्यु भएकाका आफन्तले आग्रह गरे धार्मिक परम्पराअनुसार, दाहसंस्कार गर्न तोकिएको मापदण्ड पुरा गर्ने सर्तमा दिने निर्णय गरेको हो।
कोरोना संक्रमणबाट ९ भदौमा मृत्यु भएकी विराटनगर महानगरपालिका–१५ की ४० वर्षीया महिलाको शव दाह संस्कार गर्न पाउँ भन्दै जिल्ला प्रशासन कार्यालयमा आफन्तले निवेदन दिएका थिए।
जिल्लाले तोकेको ६ बुँदे मापदण्डमा शव नेपाली सेनाको टोलीले अन्त्येष्टि स्थलसम्म लगिदिने र उक्त कार्यमा संलग्नहरु क्वारेन्टिनमा बस्नुपर्नेछ।
डिसीसीएमसीको निर्णयपछि ती महिलाको शव परिवारले दाहसंस्कार गरेका थिए। शव पुर्याउने काम भने नेपाली सेनाले नै गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार केशरीले जानकारी दिए। उनका अनुसार, मोरङमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव आफन्तले दाहसंस्कार गरेको पहिलो पटक हो।
जिल्ला प्रशासन कार्यालयको वेवसाइटमार्फत बिहीबार सार्वजनिक गरेको निर्णयमा भनिएको छ, “यस कार्यालयमा निवेदन परेको, उच्च अदालत विराटनगरले पनि कोरोना संक्रमितको मृत्युपछिको दाहसंस्कारमा आफन्तको उपस्थिति हुन पाउने अधिकार रहेकाले त्यस अनुसारको व्यवस्था मिलाउनु भनी आदेश भएकाले कोभिड–१९ कार्यविधिका अतिरिक्त तोकिएको मापदण्ड पुरा गरी समन्वयमा अन्तिम संस्कार गर्न पाउने निर्णय गरियो।”
दाह संस्कार कार्यमा बढीमा १० जना सहभागी हुन पाउनेछन् भने शव व्यवस्थापनमा रहने आफन्तले पीपीई लगायतका सामग्री प्रयोग गर्नुपर्नेछ।
जिल्लाले तोकेको ६ बुँदे मापदण्डमा शव नेपाली सेनाको टोलीले अन्त्येष्टि स्थलसम्म लगिदिने र उक्त कार्यमा संलग्नहरु क्वारेन्टिनमा बस्नुपर्नेछ।
यो प्रक्रियामा १२ वर्षभन्दा मुनि र ६० वर्षभन्दा माथिका व्यक्ति सहभागी हुन नपाउने, दाहसंस्कार गर्दा आवश्यक पर्ने सामग्री मृतकका परिवारले नै व्यवस्था गर्नुपर्ने भनिएको छ। क्वारेन्टिमा बसे नबसेको अनुगमन स्थानीय तहले गर्नुपर्नेछ।
डिसीसीएमसी प्रमुख निरौलाले उनले हिमालखबरसँग भने, “अहिलेसम्म यस्तो आग्रह आएको थिएन, चार दिनअघि कोरोनाबाटै मृत्यु भएका एक व्यक्तिका छोरोले अन्तिम पटक बुबाको मुख हेर्न चाहेको र आफू अर्कै जिल्लामा भएकाले पर्खिदिन आग्रह गरेपछि झण्डै २४ घण्टा पर्खियौं, अस्पतालको समन्वयमा उहाँले सुरक्षा सतर्कता अपनाएर फूल चढाउनुभयो, हिजो चाहिँ धार्मिक संस्कार अनुसार नै दाह संस्कार गर्ने भनेर निवेदन दिएपछि हामीले यो निर्णय गर्यौं।”
सरकारले जारी गरेको कोरोना संक्रमित भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधिले पनि सदगद् गर्नुपूर्व आफ्नो परम्पराअनुसार शवलाई नछोई जल छर्कने, पाठ गर्ने वा फूलमाला चढाउने जस्तो क्रियाकलाप गर्न सक्ने र शव हेर्न चाहेमा नछोइकन कम्तीमा एक मिटर टाढाबाट हेर्न दिन मिल्नेछ भनिएको छ।