फ्रेन्च फुटबलर पोग्बालाई कोरोना संक्रमण, चेल्सीका चार खेलाडी पनि संक्रमित
फिफा विश्वकप बिजेता फ्रान्सको राष्ट्रिय टिमका सदस्य एवं इंग्लिस प्रिमियर लिग म्यानचेस्टर युनाइटेडका प्लेमेकर पाउल पोग्बालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
युइएफए नेशन्स लिगको तयारीमा रहेको फ्रान्सको राष्ट्रिय टिमका प्रशिक्षक डिडियर डेस्च्यापले पोग्बालाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। उनकै टिमका सदस्य एवं टोटनहम हटस्पर्सका खेलाडी एन्डोम्बेलेलाई पनि संक्रमण पुष्टि भएको छ। उनीहरु दुवैले नेशन्स लिगको खेल गुमाउनेछन्।
इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका चार खेलाडीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। गोल डटकमले चेल्सीका आठ जना खेलाडी आइसोलेसनमा रहेको र उनीहरु मध्ये चार जनामा संक्रमण पुष्टि भएको उल्लेख गरेको छ।
आइसोलेसनमा बसेकाहरुमा क्रिष्टियन पुलिसिक, मेसन माउन्ट, टमी अब्राहम र फिकायो टोमोरीलगायत छन्। तर, उनीहरुलाई नै कोरोना संक्रमण भएको हो वा होइन भन्ने खुलेको छैन।