कार्यदलको प्रतिवेदनबारे माधवकुमार नेपालको टिप्पणी पार्टी बैठकमै आउँछ: सचिवालय
पार्टी विवाद समाधानका लागि सुझाव प्रस्तुत गर्न गठित कार्यदलको प्रतिवेदनबारे नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी बैठकमै टिप्पणी गर्ने प्रष्ट्याएका छन्।
नेता नेपालको सचिवालयले कार्यदलले तयार पारेको प्रतिवेदनबारे आवश्यक टिप्पणी, राय, सुझाव, धन्यवाद एवम् आलोचना बैठकमै राखिने प्रष्ट्याएको छ। “सुझाव प्रतिवेदनप्रति गरेको टिप्पणी भनेर विभिन्न सञ्चारमाध्यममा आएको कुरा सत्य होइन”, सचिवालयबाट दिइएको प्रष्टोक्तिमा उल्लेख छ।
कार्यदलको प्रतिवेदनबारे कपोलकल्पित प्रचार गरेर चरित्रहत्याको कोशिश गरिएको नेता नेपालका प्रमुख स्वकीय सचिव मोहन गौतमले लेखेका छन्। कार्यदल सचिवालयबाट अनुमोदन भएकाले यसले ल्याएको प्रतिवेदनबारे पार्टी बैठकमै आफ्नो कुरा राख्ने प्रष्टोक्ति दिइएको छ।
नेकपा विभाजनकै नजिक पुगेपछि २९ साउनमा गठित कार्यदलले ६ भदौमा सहमतिको सुझाव प्रतिवेदन बुझाएको छ। यसबारे छलफल गर्न १३ भदौमा सचिवालय बैठक बोलाइएको छ।