केरुङ–काठमाडौं प्रस्तावित रेलमार्गको काम चरणबद्ध रुपमा अघि बढाउन चीनको प्रस्ताव
चीनले केरुङ–काठमाडौं प्रस्तावित रेलमार्गसहितका काम चरणबद्ध रुपमा अघि बढाउन प्रस्ताव गरेको छ। कोभिड–१९ को प्रभाव मत्थर हुने बित्तिकै यी आयोजना कार्यान्वयनको चरणमा लैजान चीनले प्रतिबद्धता जनाएको हो।
नेपाल–चीन दुई देशका उच्च अधिकारीहरु बीच बिहीबार भएको भिडियो कन्फ्रेन्समा अन्तर्देशीय रेलमार्गसहित चिनियाँ सहयोगका परियोजनाको निर्माणका विषयमा सहमति भएको हो।
अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना तथा चीनको अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सी (सीआईडीसीए) का उपाध्यक्ष तङ्ग बोछिङ्गबीच भएको छलफलमा चिनियाँ सहयोगका निर्माणाधीन तथा प्रस्तावित परियोजनाको कार्यान्वयनका विषयमा छलफल भएको थियो। प्रस्तावित परियोजनाहरुको द्रुततर कार्यान्वयनका विषयमा दुवै पक्षले लिनुपर्ने पहलकदमीका विषयमा पनि छलफल भएको अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
भिडियो छलफलमा सीआईडीसीएका उपाध्यक्ष बोछिङ्गले चिनियाँ सहयोगमा प्रस्तावित परियोजनाहरुको कार्यान्वयनका लागि चीन प्रतिबद्ध रहेको र कार्यान्वयनका लागि दुवै पक्षको राम्रो योजना तथा समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए। उनले अरनिको राजमार्ग र काठमाडौंको चक्रपथ स्तरोन्नतिको दोस्रो चरणको परियोजना शीघ्र शुरु हुन लागेको पनि बताएका थिए।
चीनले कार्यान्वयनको प्रतिबद्धता गरेको केरुङ–काठमाडौं रेलमार्ग, टोखा–छहरे तथा बेत्रावती–स्याफ्रुवेशी सुरुङमार्गको सम्भाव्यता अध्ययन, चाइना एक्जिम ब्यांकको सहुलियत ऋणमा प्रस्तावित परियोजनाहरु, हिमाली जिल्लाहरुमा सञ्चालनको तयारी गरिएको जीवनस्तर सुधार परियोजना, वीर अस्पतालको विस्तार, कोरोलाको भन्सार विन्दु सुधार तथा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय लगायतका परियोजना कार्यान्वयनको विषयमा छलफल भएको थियो।
अर्थ मन्त्रालयका सचिव ढुंगानाले द्वीपक्षीय सहयोगका परियोजनाहरुको तीव्र कार्यान्वयन तथा अप्ठ्याराहरुलाई छलफलद्वारा टुंग्याउन आफूहरु प्रतिबद्ध रहेको बताएका थिए। उनले चीनसँगको सहकार्यलाई नयाँ उँचाइमा पुर्याउन नेपाल सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरेको जारी विज्ञप्तिमा उल्लेख छ।