‘लक्षण नदेखिएका कोरोना संक्रमितलाई बिना परीक्षण घर पठाउनु खतरनाक’
लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई घर पठाउने सरकारी निर्णय गलत भएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन्। संक्रमितको १० दिन पछाडि परीक्षण गर्नु ठिकै भएपनि १४ दिन पछाडि परीक्षण बिना घर पठाउनु गलत भएको उनीहरुले बताएका छन्।
सरकारले अहिले लिएको नीतिले संक्रमितबाट अरुमा सर्ने जोखिम बढी रहेको विज्ञहरुको भनाइ छ। सामान्य लक्षण भएका र लक्षण नभएका बिरामी १४ दिनपछि परीक्षण बिना घर पठाउने कार्य रोक्न उनीहरुले माग गरेका छन्। चीनमा पहिलो पटक संक्रमण देखिएको ३० दिनसम्म पनि भाइरस निष्कृय नभएको देखिएकाले सरकारलाई निर्णय सच्याउन डा.समिरमणि दीक्षित सुझाव दिन्छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को निर्देशिकालाई आधार बनाएर मन्त्रालयले १४ दिन पछाडि घर पठाउने गरिएको बताए। ‘‘लक्षण नभएको व्यक्तिको हकमा १४ दिनपछि परीक्षण नगरस् घर पठाउँदा कुनै समस्या हुँदैन। अरु व्यक्तिलाई संक्रमण हुने सम्भावना हुँदैन। तथ्यहरुले १० दिनपछि संक्रमण हुँदैन भन्छ, तर हामीले ४ दिन थपेको अवस्था हो”, उनले भने।
तराईका जिल्लाहरुमा क्वारेन्टिनबाट परीक्षण नगरी घर पठाउँदा अहिलेको अवस्था आएको दीक्षित बताउँछन्। “१५ दिनपछि पोजेटिभ हुँदैन भन्ने सोचले उपत्यका र तराइको जस्तो अवस्था देशभर हुनसक्छ”, उनी भन्छन्।
अर्का जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे पनि परीक्षण नगरी संक्रमितलाई डिस्चार्ज गर्न उपयुक्त नहुने बताउँछन्। स्वास्थ्य मन्त्रालय अन्र्तगतको आपतकालिन स्वास्थ्य कार्यसञ्चालन केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र देशभरीका कोभिड अस्पताललाई पत्राचार गरी १० दिनमा पीसीआर गरी पोेजेटिभ आएमा लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई थप ४ दिन राखेर परीक्षण नै नगरी डिस्चार्ज गर्न भनेको छ।