विश्वमा घटेको वन्यजन्तुको व्यापार महामारीपछि पनि कायम रहला ?
विश्वमा प्रत्येक पाँच मिनेटमा एउटा सालकको अवैध शिकार हुन्छ। दाह्राको लागि प्रत्येक १५ मिनेटमा एउटा हात्ती मारिन्छ। त्यस्तै प्रत्येक १५ घण्टामा एउटा गैंडा मारिने तथ्याङ्क छ।
चीन वन्यजन्तुको मासु र विभिन्न अङ्ग खपतका लागि विश्वकै ठूलो बजार हो। वन्यजन्तुको व्यापारलाई चीनले खुला राख्दा संसारभर त्यसको नकारात्मक असर परेको संरक्षणकर्मीहरूको भनाइ थियो।
उनीहरूले वन्यजन्तुको व्यापारमा प्रतिबन्ध लगाउन चीनमाथि दबाब दिंदै आएका थिए। कोरोनाभाइरस वन्यजन्तुकै कारण मानिसमा सरेको आशंकापछि भने चीनले व्यापारमा प्रतिबन्ध लगाइसकेको छ।
डिसेम्बर २०१९ मा वुहानस्थित मासु बजारबाट फैलिएको आशंका गरिएको कोरोनाभाइरस महामारीले अहिले सबै देश आक्रान्त छन्। वैज्ञानिकहरूले चमेरो वा सालकबाट यो भाइरस मानिसमा सरेको हुनसक्ने अनुमान गरेका छन्। तर, पुष्टि भएको छैन।
कोरोनाभाइरस प्राकृतिक रूपमा विकसित र प्रसारित भएको अनुसन्धानले देखाए पनि मानिसमा कसरी आइपुग्यो भन्ने पत्ता नलाग्न पनि सक्ने विश्व स्वास्थ्य संगठनलाई उद्धृत गर्दै बीबीसीमा प्रकाशित रिपोर्टमा उल्लेख छ। वुहानस्थित मासु बजारबाट भाइरस उत्पत्ति भएको आशंकापछि चीनले वन्यजन्तुको मासु बेचविखनमा शुरूमा अस्थायी प्रतिबन्ध लगाएको थियो।
चीनको राष्ट्रिय जनकंग्रेसको १३औं स्थायी समिति बैठकले वन्यजन्तुको व्यापारमा स्थायी प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। चीनले गरेको यो निर्णयबाट वन्यजन्तुको व्यापारमा विश्वव्यापी असर देखिने विज्ञहरूको भनाइ छ। न्यूयोर्क टाइम्सको गएको २७ फेब्रुअरीको अंकमा प्रकाशित एक रिपोर्टमा वन्यजन्तुको व्यापारमा स्थायी प्रतिबन्ध लगाउने चीनको कदमलाई ‘ठूलो पाइला’ भनिएको छ।
घट्यो त वन्यजन्तुको व्यापार ?
वन्यजन्तुका अंगहरूलाई औषधिको रूपमा प्रयोग गर्ने चिनियाँहरूको परम्परागत ज्ञान तथा मासुको प्रयोगकै कारण चीनमा वन्यजन्तुको खपत बढी हुने विश्वास गरिन्छ। तर, चीनले प्रतिबन्ध लगाएपछि संसारभर वन्यजन्तुको व्यापार घटेको ताइवानको ‘नेशनल पिन्तुङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी’ बाट सालकमा विद्यावारिधि गरिरहेकी तुलसीलक्ष्मी सुवाल बताउँछिन्।
उनी भन्छिन्, “अहिलेसम्मको अवस्थामा वन्यजन्तु कारोबार केही न्यून भएको देखिन्छ। तर, अहिलेकै अवस्था भविष्यसम्म कायम रहला भन्न सक्ने अवस्था भने छैन।” अहिले महामारीका कारण यात्रा सहज नभएर पनि कारोबार न्यून भएको हुनसक्ने उनको आशंका छ।
हाल कति प्रतिशतले कारोबारमा कमी आयो भन्ने ठ्याक्कै तथ्याङ्क छैन। व्यापारको अवस्थाबारे अध्ययनहरू भइरहेको उनले जानकारी दिइन्।
चीनले मात्र व्यापारमा प्रतिबन्ध लगाएर वन्यजन्तुको अवैध व्यापार निमिट्यान्न नहुने उनको भनाइ छ। त्यसका लागि सम्बन्धित देशहरूमा स्थानीय तहमै वन्यजन्तुको चोरी शिकारी र उपयोग बन्द हुनुपर्ने उनी बताउँछिन्।
चीन जस्तै वन्यजन्तुको खपत गर्ने अरू धेरै मुलुक छन्। यद्यपि प्रतिबन्धअघि चीनमा सबैभन्दा बढी कारोबार थियो।
वन्यजन्तु अपराधका विषयमा विश्वव्यापी रूपमा काम गर्ने वन्यजन्तु न्याय आयोग (वाइल्डलाइफ जस्टिस कमिसन) को फेब्रुअरी २०२० को प्रतिवेदन अनुसार सन् २०१६ देखि २०१९ सम्मको अध्ययनले नाइजेरियामा सबैभन्दा धेरै सालकको व्यापार भएको देखाएको छ। चार वर्षको तथ्याङ्कलाई विश्लेषण गरेर प्रकाशित उक्त प्रतिवेदन अनुसार सालकको व्यापार हुने १० वटा देशको सूचीमा चीन तेस्रो नम्बरमा छ। सालकको व्यापार चीनमा भन्दा बढी नाइजेरिया र भियतनाममा हुन्छ। (हे. इन्फो)
सन् २०१७ मा चीनमा ३१ हजार ८५९ केजी सालकको व्यापार भएको थियो। विश्वव्यापी रूपमा २०१६–२०१९ सम्म कुल २०६.४ टन सालको व्यापार भएको प्रतिवेदनमा उल्लेख छ।
वाइल्डलाइफ जस्टिस कमिसनका अनुसार प्रत्येक पाँच मिनेटमा एउटा सालकको अवैध शिकार हुन्छ। त्यसैगरी दाह्राको लागि प्रत्येक १५ मिनेटमा एउटा हात्ती मारिन्छ। प्रत्येक १५ घण्टामा एउटा गैंडाको अवैध शिकार हुन्छ।
सालकप्रति सकारात्मक समुदाय
विभिन्न अध्ययनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सालकबाट कोरोनाभाइरस मानिसमा सरेको हुनसक्ने समाचार प्रकाशन तथा प्रसारण गरे। सालकको विषयमा विद्यावारिधि गरिरहेकी तुलसीलक्ष्मी सुवालले सालकबारे नेपालमै समुदायको धारणा बुझ्न बन्दाबन्दीको समयमा अध्ययन गरेकी छिन्।
सालकबाट कोरोनाभाइरस मानिसमा सरेको समाचार सुन्दासुन्दै पनि नेपालमा भने सालकलाई सकारात्मक रूपमा हेर्ने गरेको पाइएको उनी बताउँछिन् । ‘अमेरिकन जर्नल अफ जियोलोजी’ मा प्रकाशित लेखमा बन्दाबन्दीको समयमा विभिन्न स्थानमा भेटिएका सालकको उद्धारमा संलग्न ९५.२ प्रतिशत मानिस सालकप्रति सकारात्मक भएको उल्लेख छ।
गत मे र जून महीनामा प्रदेश–१ मा दुई, वागमतीमा तीन र गण्डकी प्रदेशमा एक गरी ६ वटा सालकको उद्धार गरेर सुरक्षित वासस्थानमा छोडिएको थियो। सुवालको अध्ययन त्यही उद्धार र त्यसमा संलग्नहरूमा केन्द्रित छ।
वन कर्मचारीसमेत गरी सालकको उद्धार र सुरक्षित वासस्थानमा छोड्ने काममा ८४ जना संलग्न थिए। तीमध्ये उद्धारमा संलग्न ६२ जनाले कुनै पनि सुरक्षित साधन विना उद्धारको काम गरेका थिए। उनीहरूमा कोभिड–१९ को लक्षण देखिएन।
“कोरोनाभाइरस सालकबाटै सरेको हल्ला चलेको समयमा पनि स्थानीय समुदायले सालकलाई उद्धार गरेर सुरक्षित वासस्थानमा छोड्नु सकारात्मक हो” सुवाल भन्छिन्, “सालकप्रति मानिसहरूको सकारात्मक धारणा छ भन्ने यसबाट बुझिन्छ।”