कोरोना संकटसँग जुध्न नेपाललाई बेलायतको रु. ७ अर्ब सहयोग
कोरोना भाइरसले निम्त्याएको संकटसँग जुध्न बेलायत सरकारले नेपाललाई ४५.८ मिलियन पाउण्ड (करिब रु. ७ अर्ब १४ करोड) बराबरको आर्थिक सहयोग गर्ने भएको छ।
बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमद्ले अर्थमन्त्री डा. युवराज खतिवडासँगको भिडियो कन्फ्रेन्स छलफलमा यो सहयोग प्याकेजको घोषणा गरेको अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
कोभिड–१९ ले सिर्जना गरेको कठिन अवस्थालाई सम्बोधन गर्न बेलायत सरकारले यो सहयोग प्याकेज उपलब्ध गराउन लागेको हो। यो सहयोगका साथै बेलायत नेपालको आर्थिक तथा लगानीको वातावरण सुधार, जलवायु परिवर्तनको असर न्यूनीकरण, सगरमाथा सम्बाद र हरित विकास जस्ता विषयमा नेपालसित थप सहयोग बढाउन र सहकार्य गर्न बेलायत सरकार ईच्छुक रहेको राज्यमन्त्री अहमद्ले बताएका थिए।
उक्त छलफलमा अर्थमन्त्री डा. खतिवडाले बेलायत सरकारले कोभिड–१९ पछिको कठिन समयमा स्वास्थ्य क्षेत्र, सामाजिक सुरक्षा तथा पूर्वाधार क्षेत्रमा ठूलो सहयोग गर्ने गरी प्रस्ताव गरेकोमा धन्यवाद दिए। अर्थमन्त्रीले छलफलमा नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराएका थिए।
उनले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेसहोल्ड संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको, बेलायतसँग दोहोरो कर मुक्ति सम्झौताको प्रक्रिया अघि बढेको, लगानी आकर्षित गर्ने गरी सार्वजनिक निजी साझेदारी तथा लगानी वोर्ड ऐन लगायतका कानूनहरु निर्माण गरिएको बताएका थिए।