प्रदेश १ मा ९० जनामा कोरोना संक्रमण पुष्टि, ८१ जना संक्रमणमुक्त
प्रदेश १ मा बिहीबार ९० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३० पुगेको छ।
आज थपिएका संक्रमितमध्ये मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १/१ जना छन्। विराटनगरमा मात्रै आज २० महिला र १८ पुरुष गरी ३८ जना संक्रमित थपिएका छन्।
प्रदेश १ मा आज १ हजार ७ सय ७३ जनाको पिसीआर रिपोर्ट आएकोमा ३४ महिला र ५६ पुरुष संक्रमित भएका हुन्। हिजो मात्र यो प्रदेशमा १ सय ८ संक्रमित थपिएका थिए। जसमध्ये विराटनगरमा १३ महिला र ३० पुरुष गरी ४३ जनामा संक्रमण पुष्टि भएको थियो।
बिहीबार ८१ जना संक्रमणमुक्त भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार, कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट ३६ जना, मेची अस्पताल झापाबाट ९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, विराटनगरस्थित काली मन्दिर आइसोलेसनबाट १ र होम आइसोलेसनमा रहेका २९ जना संक्रमणमुक्त भएका हुन्।
आज संक्रमणमुक्त हुनेको संख्यासँगै प्रदेश १ मा हालसम्म १ हजार ४ सय ९६ जना निको भएका छन्।
प्रदेश १ का अधिकांश स्थानीय तहले आइसोलेसन संचालन नगर्दा संक्रमितहरू घरमै बस्न बाध्य छन्। होम आइसोलेसनमा बसेका संक्रमितलाई स्थानीय तहले आवश्यक परामर्श र स्वास्थ्य सहायता दिन सकेका छैनन्।
विराटनगर महानगरपालिकामा प्रदेश सरकारको एउटा, महानगरको तीन वटा र होटल आइसोलेसन एउटा छ।
इटहरी उपमहानगरले भने आइसोलेसन संचालन गर्न सकेको छैन। इटहरीवासीले होटलमा आइसोलेसन संचालन गर्ने प्रक्रिया अगाडि बढाएका छन्।