अस्पताल नपुग्दै नाबालक शिशुसहित सुत्केरीको मृत्यु
कालीकाेटको रास्कोट नगरपालिका–२ सिप्खानाकी २८ वर्षीया शिर सार्की र उनको नाबालक शिशुको मृत्यु भएको छ। सुत्केरी शिरको ४ भदौ र उनले जन्माएकी नाबालक शिशुको भोलिपल्ट मृत्यु भएको हो।
सुत्केरी बेथा लागेपछि स्ट्रेचरबाट सेरा स्वास्थ्यचौकी लैजादै गर्दा बाटोमै छोरा जन्माएकी थिइन्। तर, सालनाल नखसेपछि जिल्ला अस्पताल लैजादै गर्दा शिरको मृत्यु भएको उनका जेठाजु हरसिंह सार्कीले बताए।
“सालनाल नखसेपछि हामीले प्रसूति गृह लिएका थियौं। त्यहाँपनि उपचार हुन नसकेपछि जिल्ला अस्पताल लिदैं गर्दा बाटोमै मृत्यु भयो”, उनले भने। अविरल वर्षाले सडक बगाएपछि बोकेर लैजाउने प्रयास भएपनि अस्पताल नपुग्दै सुत्केरी शिरको मृत्यु भएको उनले बताए।
गएको १२ साउन राति सदरमुकाम जाने बाटोको चौथाखोला छेऊ सडक पहिरोले बगाएको थियो। सडक भत्किएपछि बोकेर उनलाई उपचारमा लैजाने प्रया भएको थियो।
सुत्केरी शिरको मृत्यु भएको भोलिपल्टै नाबालकको समेत मृत्यु भयो। रास्कोट नगरपालिकाकी उपप्रमुख मिमसरा वम शाहीले परिवारको लापरबाहीले आमाछोरा दुवैको मृत्यु भएको बताइन्। शारीरिक अवस्था कमजोर भएकाले होसियारी अपनाउन आग्रह गरिएको उपप्रमुख शाहीले बताइन्।