फेरि यस्तो गल्ती नदोहोरियोस् !
कोभिड–१९ लाई ‘तातोपानी पिउने, हाच्छिउँ–साच्छिउँ गरेर उडाइदिने’ प्रधानमन्त्री ओलीको देशव्यापी आग्रह असत्य मात्र होइन भद्दा मजाकमा परिणत भइसकेकाले विगतका गल्तीबाट पाठ सिक्नुको विकल्प छैन।
दुर्भाग्यवश अहिले हामी त्यही विन्दुमा आइपुगेका छौं, जहाँ पुगिएला भन्ने असाध्य डर थियो। करीब ८० दिनको राष्ट्रव्यापी बन्दाबन्दी (लकडाउन) लाई खुकुलो (लुजडाउन) गरिंदै गर्दा ‘न्यू नर्मल’ मा फर्किने अपेक्षा गरिएको थियो। तर, लगभग नियन्त्रणको सँघारमा रहेको कोभिड–१९ महाव्याधि सरकारको अति आत्मविश्वास र अकर्मण्यता अनि नागरिकको अटेरका कारण समुदायस्तरमा फैलिइसकेको छ।
११ चैतमा बन्दाबन्दी शुरू गरेर ६ साउनमा यसको औपचारिक अन्त्यको घोषणा गरिंदा १७ हजारभन्दा माथि कोभिड पोजिटिभ र ४० जनाको मृत्यु भएकोमा त्यसयता एक महीनामा दुई गुणा बढी संक्रमित र मृतकको संख्या चार गुणा पुगिसकेको छ। र, यो क्रम वनडढेलो झैं सबै भौगोलिक क्षेत्र र समुदायमा व्याप्त छ।
कोभिड–१९ का कारण प्रत्येक दिन ८–१० जनाको मृत्युको खबरले सशस्त्र द्वन्द्वकालको सम्झना गराइरहेको छ। त्यसबेला र यतिबेलाको मृत्युबीच फरक यति मात्र हो कि द्वन्द्वकालमा मान्छेको हत्या मान्छेद्वारा नै बलपूर्वक हुन्थ्यो। अहिले भने अदृश्य भाइरसले मानिसको जीवन हरण गरिरहेछ।
अक्षम शासक
कोभिड महाव्याधिको शुरूआती चरणमा जुन–जुन देशले यसलाई गम्भीरपूर्वक लिए, तिनले संक्रमणको दर ‘ब्रेक’ लगाउँदै नियन्त्रणमा लिन सफल भए। तर, ती शासक जसले कोभिडलाई सामान्य मौसमी रुघाखोकी भन्दा बढी मानेनन्, तिनले चर्को मानवीय र आर्थिक मूल्य चुकाउँदै आएका छन्।
कोभिडलाई सामान्य मौसमी ‘फ्लू’ बताउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र मास्क विरोधी ब्राजिलका राष्ट्रपति जायर बोल्सेनेरोले आफ्ना अनुत्तरदायी एवं उरन्ठेउला हर्कतका कारण देशवासीलाई क्रमशः पहिलो र दोस्रो कोरोना आक्रान्त मुलुकमा उभ्याएका छन्।
यता हाम्रा शासकले पनि कोभिडलाई सामान्य रुघाखोकी भन्दा बढी देखेनन्। संक्रामक रोगको त्रासका कारण मानिसको जमघट स्वतः असंभव हुने भएपछि सामूहिक विरोध वा प्रतिरोधविहीन माहोलमा शासक अकण्टक शासनको अभीप्सामा देखिए।
सँगसँगै कोभिड अनियमितताको अपूर्व अवसर बनिदियो अनुत्तरदायी शासकका निम्ति। स्वयं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले संघीय संसद्को प्रश्नोत्तर सत्रमा नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी रहेको र जीरा, धनियाँ, बेसार, अदुवा जस्ता घरेलु मरमसला नै कोभिड विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन काफी रहेको दलिल पेश गरे। कोरोनाभाइरसलाई ‘तातोपानी पिउने, हाच्छिउँ–साच्छिउँ गरेर उडाइदिने’ ओलीको दावी हावादारी सावित हुन धेरै समय कुर्नु परेन।
नेपालीको रोग प्रतिरोधात्मक क्षमताको तथ्य विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस बिफ्रिङका आँकडाले नै उजागर गर्दै आएका छन्। आँकडा अनुसार विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करीब १० प्रतिशतले कम छ। नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेकोमा विश्वमा यो दर ६८.१ प्रतिशत छ । कोभिडबाट विश्वमै तेस्रो तथा एशिया अनि दक्षिणएशियामा पहिलो हताहती बेहोरेको छिमेकी भारतको संक्रमित निको हुने दर ६१.५३ प्रतिशत छ।
बन्दाबन्दीको प्रारम्भमा संक्रमितमा गम्भीर लक्षण नदेखिएका नेपालमा अहिले आईसीयू र भेन्टिलेटरमा राखिनुपर्ने बिरामीको चाप बढिरहेको छ। यसबाट सामान्य लक्षण देखिएका संक्रमितलाई समेत अस्पतालले भर्ना लिन नसक्दा होम आइसोलेसनको बाध्यता आइपरेको छ।
संक्रमणको प्रारम्भिक चरणमै हामी कोभिडसँग प्रभावकारी ढंगले जुध्न सकेनौं। बन्दाबन्दीको उपायमार्फत मानिसलाई घरभित्र बन्द गरिदिएमा संक्रमण आफैं निमिट्यान्न हुने निश्चिन्तता शासकमा देखियो। हवाई सेवा बन्द भइसकेको अवस्थामा खुला सीमामार्फत स्वदेश भित्रिनेहरूलाई जाँच पडताल गर्ने र क्वारेन्टिनमा राख्ने कार्यमा राज्य चुक्यो।
अस्तव्यस्त र सुँगुरका खोर जस्ता क्वारेन्टिनमा संक्रमितसँगै स्वस्थ व्यक्ति समेत कोचिंदा संक्रमणको दर ह्वात्तै बढ्यो। सीमाको कडाइले गर्दा लुकेर घर पुग्ने, पीसीआर भन्दा पनि आरडीटी विधि अवलम्बनका कारण संक्रमण समुदाय स्तरसम्म फैलन पुग्यो। तर, समुदायमा फैलिएको संक्रमणलाई रातो, पहेंलो र हरियोमा वर्गीकरण गरेर रातोदेखि हरियो क्षेत्रसम्मको आवागमन विच्छेद गर्नेतर्फ कुनै कदम उठाउन सकिएन। परिणामतः देशको एक भागको संक्रमण अन्य भागसम्म सजिलै फैलियो।
उदाहरणका लागि, मुलुककै सबैभन्दा आवादीयुक्त क्षेत्र काठमाडौं उपत्यकाभित्र बन्दाबन्दी अन्त्य हुँदासम्म नगन्य संख्यामा संक्रमित थिए। तर बन्दाबन्दी खुलेसँगै काठमाडौंमा निर्वाध आवागमन बढेबाट राजधानीमा दैनिक ३०० बढी संक्रमित देखिन थालेका छन्। विना पीसीआर परीक्षण काठमाडौं प्रवेशमा निषेध र नाकामा कडाइ गरिएको भए संक्रमण यो स्तरमा फैलने थिएन।
सार्वजनिक यातायात बन्द रहेको अवस्थामा निजी साधन र अझ एम्बुलेन्सको ओसार–पसारको धन्दाले परिस्थितिलाई विकराल पारिदिएको छ। केहीअघि गोङ्गबुमा हत्या अपराध गरेकी एक महिला एम्बुलेन्स मार्फत चितवन पुगेको घटनाले राजधानीसम्मको आवागमनको अवस्था उजागर गर्दछ।
दोस्रो ‘वेभ’ को अवसर
बन्दाबन्दीयताको पाँच महीना हाम्रा आफ्नै कमी–कमजोरी, गल्तीहरूको आत्मसमीक्षा र विश्वका मुलुकहरूमा अपनाइएका असल अभ्यासहरू सिक्ने अवसर हो। कोभिडको प्रारम्भिककालमा हामी नराम्ररी चुक्यौं। त्यसैले अहिलेको दोस्रो ‘वेभ’मा पनि त्यही गल्ती ग¥यौं भने हामीसँग आफ्नाहरूको शव गन्ती गर्नुबाहेक अर्को विकल्प रहने छैन।
मानवीय क्षतिसँगै आर्थिक दुरवस्थाले हामीलाई विस्तारै आर्थिक मन्दी (रिसेसन) बाट ‘डिप्रेसन’ सम्म लैजानेछ। त्यसैले पनि हामीलाई फेरि गल्ती दोहो¥याउने छुट छैन।
बन्दाबन्दी आफैंमा संक्रमण नियन्त्रणको आंशिक उपाय मात्र रहेकाले बन्दाबन्दी सँगै नियन्त्रणकारी विधि अपनाउनु अपरिहार्य छ। मास्क, भौतिक दूरी मात्र नभएर भीडभाडको अवस्था न्यून गर्न सार्वजनिक सेवा प्रदायकमा चुस्तता, डिजिटल वा भर्चुअल विधिको अधिकतम प्रयोग गरिनुपर्दछ।
सख्त बन्दाबन्दी होस् वा खुकुलिएको अवस्था समुदायस्तरमा व्यापक परीक्षण गरिनुपर्दछ। राज्यले परीक्षण निम्ति आफ्नो आग्रह बेवास्ता गर्दै आएको भन्ने स्थानीय निकायको गुनासो सम्बोधन गर्दै स्थानीय निकायलाई परीक्षण र आइसोलेसनमा ‘प्रो–एक्टिभ’ बनाइनुपर्दछ।
स्वास्थ्यकर्मीको मनोबल हो। यतिबेला उनीहरूको मानमर्दन र हुर्मत लिइनु भनेको आफ्नै आयु छोट्याउनु हो। कोभिडको दोस्रो लहरमा हामीले यति मात्र सतर्कता अपनाउन सक्यौं भने मात्र पनि हामी महामारीको अँध्यारो सुरुङ पार गर्न सक्षम हुनेछौं।
सबैभन्दा महत्वपूर्णचाहिं, सबै अस्पताललाई कोभिड उपचारमा प्रयोग गरिनु भन्दा पनि कोभिड ‘डेडिकेटेड’ अस्पताल छुट्याइनुपर्दछ। यसो गरिए अस्पतालभित्रै संक्रमण नियन्त्रण गर्न सकिनेछ भने कोभिड बाहेकका बिरामी ढुक्कले अस्पताल जान सक्नेछन्। युरोपका केही मुलुकमा कोभिड र गैर–कोभिड उपचार एउटै अस्पतालबाट गरिंदा संक्रमण फैलिएका दृष्टान्त हामीले सुन्दै आएका छौं।
अहिले अस्पतालहरूमा भेन्टिलेटरको माग भइरहेको छ। तर आईसीयू र भेन्टिलेटर संचालन गर्न सक्ने दक्ष जनशक्तिको अभाव मध्यनजर गर्दै तत्काल थप स्वास्थ्यकर्मीलाई यसबारे प्रशिक्षण दिन आवश्यक छ।
बिर्सन नहुने अर्को कुरा, स्वास्थ्यकर्मीको मनोबल हो। यतिबेला उनीहरूको मानमर्दन र हुर्मत लिइनु भनेको आफ्नै आयु छोट्याउनु हो। कोभिडको दोस्रो लहरमा हामीले यति मात्र सतर्कता अपनाउन सक्यौं भने मात्र पनि हामी महामारीको अँध्यारो सुरुङ पार गर्न सक्षम हुनेछौं।