साढे २८ लाख नगदसहित एक युवक पक्राउ
स्रोत नखुलेको साढे २८ लाख रुपैयाँसहित रौतहटमा एक जना पक्राउ परेका छन्। भारतबाट नेपाल भित्र्याइँदै गरेको २८ लाख ५१ हजार ९ सय ६० रुपैयाँसहित सशस्त्र प्रहरीले आज बिहान राजपुर नगरपालिका–९ का २० वर्षीय दिलीपकुमार साहलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, सशस्त्र प्रहरी बल रौतहटबाट सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओलीको कमान्डमा रहेको अनुगमन टोलीले ईशनाथ नगरपालिका ९ लवतनवाटोलमा चेकजाँच गर्ने क्रममा रकम बरामद गरेको हो।
साहले चलाएको बीआर ३० एन ९५८० नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा रकम बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक ओलीले जानकारी दिए।
स्रोत नखुलेको रकमसहित पक्राउ परेका साह विरुद्ध आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
- सञ्जय मित्र, रौतहट