प्रहरी हिरासतमा रहेका रौतहटका युवकको उपचारका क्रममा मृत्यु, प्रहरीले यातना दिएको अधिकारकर्मीको आरोप
हत्याको आरोपमा अनुसन्धान क्रममा रौतहट प्रहरीको हिरासतमा रहेका एक युवकको उपचारका क्रममा वीरगंजमा मृत्यु भएको छ। रौतहटको गरुडा नगरपालिका ८ जिंगडियाका १९ वर्षीय विजय महरा चमारको उपचारको क्रममा गए राति नेशनल मेडिकल कलेज वीरगंजमा मृत्यु भएको हो।
गत साउन ३१ गते जिंगडियाको स्थानीय फलफूल नर्सरीका श्रमिक २० वर्षीय निरञ्जन रामको घाँटी रेटेर हत्या भएको थियो। उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विजय महरासहित ७ जनालाई पक्राउ गरेर अदालतबाट म्याद थपी अनुसन्धान गरिरहेको थियो। हत्यामा संलग्न सात जनाले अपराध स्वीकार गरेको पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको थियो।
पक्राउ गरेको दुई दिनपछि ३ भदौमा महराको पिसाबमा समस्या आएपछि नजिकैको अनामिका अस्पतालमा लैजाँदा अस्पतालले पिसाबमा संक्रमण देखिएको बताउँदै वीरगंजस्थित नेशनल मेडिकल कलेजमा लैजान भनेपछि भोलिपल्ट वीरगंज लगिएको गरुडाका नायव प्रहरी उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोले बताए। महतोले भने, “नेशनलमा उपचार गराउँदा महराको दुवै मिर्गौला फेल भएको बताइयो, अस्पतालमै मिर्गौलाको दुई पटक डाइलसिस पनि गरिएको थियो। तर उपचारकै क्रममा गए राति मृत्यु भयो।”
दलित अधिकारकर्मीहरुले भने प्रहरीको ज्यादतीबाट महराको मृत्यु भएको भन्दै विरोध गरेका छन्। मृतकका पिता पनिलाल महराले प्रहरी हिरासतमा छोरालाई चरम यातना दिएको कारण मृत्यु भएको आरोप लगाएका छन्। घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न उनले माग गरेका छन्।
- सञ्जय मित्र, रौतहट