कोरोना परीक्षण गर्न रुकुम पश्चिम पठाइएको किटले काम गरेन, स्वाबका आठ सय नमूना अलपत्र
कोरोनाभाइरस परीक्षणका लागि कर्णाली प्रदेश सरकारले पठाएको किटले काम नगरेपछि रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले फिर्ता पठाउन लागेको छ।
चौरजहारी नगरपालिकास्थित पीसीआर परीक्षण प्रयोगशालाका लागि प्रदेश सरकारले पठाएको ५०० थान किट पठाएको थियो। तर, किट प्रयोगमा नआएपछि त्यत्तिकै थन्काइएको र फिर्ता पठाउने तयारीमा रहेको मेयर विशाल शर्माले बताए। उनका अनुसार, किट प्रयोग गर्न नमिल्ने भएपछि संकलन गरिएको स्वाबको ८ सय नमूना परीक्षण गर्न समस्या भएको छ। “स्वाब परीक्षणका लागि किट अभाव भएपछि प्रदेश सरकारसँग माग गरेका थियौं, तर काम नगर्ने किट पठाइयो”, उनले भने।
नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामकुमार गौतमले जुम्ला र दैलेखबाट पनि फिर्ता गरिएको सो किट चौरजहारी प्रयोगशालामा पठाइएको जानकारी दिए।
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकी निर्देशक रीता भण्डारी जोशीले भने नगरपालिकाको मागको आधारमा पठाइएको किट प्रयोगमा नआउनुको कारण पीसीआर मेशिनमा म्याच नभएको बताइन्। उनले किटको अभाव भइरहेको वेला ५०० थान किट सहयोग गरेको तर मेशिनले म्याच नगर्नु प्रदेश सरकारको दोष नभएको दाबी समेत गरिन्। “नगरपालिकाले प्रदेश सरकारसँग सहकार्य नगरी मेशिन ल्याएको हो, अहिले सहयोग गरिएको किटले काम गरेन भनेर प्रदेश सरकारलाई आरोप लगाउनु गलत हो।”
यस विषयमा जानकारी लिन कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलसँग पटकपटक टेलिफोन गर्दा सम्पर्क हुन सकेन।
- यज्ञराज थापा, दैलेख