अन्याय थियो, असाध्यै अन्याय !
कान्छा गुरुज्यू विश्वराज पण्डित र पद्मकुमारी पाण्डेको परिवार: उभिएका बायाँबाट क्रमश:– सोहना पाठक, चन्द्रकुमारी, बिधी राज पाण्डे, कल्याणी रेग्मी र नूतन रेग्मी । बसेका– बलराम जोशी र रेणू पाण्डे। चन्द्रकुमारी जोशीबाहेक सबै बितिसकेका छन्। तस्वीर: जोशी परिवारको संकलन
मेरी बूढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ वर्ष टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा अड्की–अड्की पुराना कुरा गर्नुहुन्छ। यसपालि आफ्नो बुवाले धेरै भित्रिनी राखेर गरेको अन्याय र छोरा तथा छोरी बीचको भेदभावबारे हामीलाई सुनाउनुभएको छ, उहाँकै 'खराे' शब्दमा:
मेरो आमा (पद्मकुमारी पाण्डे) ले सात वटा कि कति वटा बच्चा पाएको हो। छोरा चाहिं एउटा मात्र। बुवा (विश्वराज पण्डित) को भित्रिनीहरूबाट त थुप्रै बच्चा थिए। मुवाबाट हामी ६/७ जना सन्तान थियौं । एउटा चाहिं सानैमा बितेको रे !
मेरो दिदी मैयाबाबा दुई/तीन वटा बच्चा पाएपछि बितिन्। मपछि बैनीहरू थिए– साइँली मैया (नूतन रेग्मी), काइँली मैया (कल्याणी रेग्मी), अनि भाइ (विधिराज) र कान्छी बैनी (सोहना पाठक)।
हामी छोरीछोरी थियौं, एउटा मात्र छोरो। त्यो पनि धेरै पछि पाएको। छोरा पायो भनेर सबैलाई हर्कबढाइँ गरेर पैसा बाँडेको थियो। मुवा पनि छोरा पाएर दंग त हुने भयो नि !
अनि ऊ (भाइ) त राजा भइहाल्यो, साह्रै पुल्पुलिएको। बाहिर जाँदा पनि, घरभित्र पनि सँगसँगै हिंड्ने मान्छेहरू थिए। हाम्रा चाहिं साथमा धाईहरू हुन्थे।
हुन त भाइको पनि बाहुनी धाई थियो, अन्नपूर्णा भन्ने। त्यो धाईको त हाम्रा धाईहरूको भन्दा सबै कुरा राम्रो, लुगाहरू सबै। हुन त मेरो पनि पहिला बाहुनी धाई नै थिई रे ! पछि उसको दूध राम्रो भएन भनेर ज्यापुनी धाई राखेको रै’छ।
भाइ त हुनसम्म फुर्केको। सबलाई हेप्ने। जे गरे पनि हुने उसले। जे पनि भत्काउँदै, बिगार्दै हिंड्ने। अलि दुष्ट बानी थियो। पढ्नमा त राम्रै थियो, मास्टरहरू राखिदिएकोथ्यो। भाइले बनारस गएर आचार्य पास गर्यो। त्यति नगरे त मन्त्र सुनाउन नि पाइन्नथ्यो नि !
भाइको परेवा उडाउने सोख थियो। थरीथरीका, राम्रा राम्रा। कहाँ कहाँबाट ल्याउँथे। छोरालाई त जे भन्यो उही ! झङ्गे (झङ्कबाजे) ले परेवाको रेखदेख गर्थे। अरूहरूले पनि परेवा उडाउँथे, अनि जुध्थे। फेरि बहरी परेवा खान घुमिरहेको हुन्थ्यो। च्याप्प समाउँथ्यो अनि टाउको छिनाइहाल्थ्यो। त्यसैले सबले तलबाट ढ्याङढ्याङ गर्थे, अनि छोड्थ्यो।
छोरा र छोरीमा धेरै फरक हुन्थ्यो। हामी छोरीहरू चाहिं ७/८ वर्षको हुँदै बिहे गर्न हतार भइहाल्ने !
छोरा र छोरीको खाना पनि फरक हुन्थ्यो। छोरालाई घ्यू हालेको भुजा हुन्थ्यो। छोरीहरूलाई नाई। बुवा र भाइलाई घ्यू। मुवा र छोरीहरूलाई नाई। यस्तो थियो। साफ् अन्याय।
भाइले खाने घेरा र हाम्रो एकदम फरक पर्थ्याे। दुई तीन थरी बढी हुन्थ्यो। मासु त सधैं। हामीलाई पनि मासुको रस हुन्थ्यो। तर भाइलाई मासुको परिकार बढी हुन्थ्यो। बुवाको पनि त्यस्तै।
बुवाले नखाएको जुठो खाना मुवाले खाइबक्सिन्थ्यो। भाइको चाहिं उसको धाईले। भाइ, ज्वाइँ, केटाहरू, बुवासित खाने। हामीहरू चाहिं आमासित। हामी सबै जना त्यै गगनसिंहको बैठकमाथिको भान्सामा खान्थ्यौं। भुइँ पोतेको हुन्थ्यो। बाहुनचाहिं गोरखाबाट झिकाएका काकाबाजे थिए। मीठो पकाउँथे।
सुसारेका कथा–व्यथा
ढोकाटोलमा तीन वटा चोक थिए। खलङ्गा चोक सबैभन्दा ठूलो थियो। चोकको वरिपरि छिंडीछिंडी हुन्थ्यो। त्यहीं बस्थे काम गर्नेहरू। उनीहरू आफूआफू मिलेर छुट्टाछुट्टै पकाएर खान्थे। पालो गरेर पकाउँथे। उनीहरूको पकाउन, काम गर्न आफ्नै जातका मान्छे ल्याउँथे। बाहुनीहरू अरूले छोएको खान्नथे। उनीहरू त चोखो खाने, छुट्टै पकाउँथे। मन परेको मान्छे (भित्रिनी) को चाहिं एउटा छुट्टै काम गर्ने, पकाउने मान्छे राखेका हुन्थे।
काम गर्ने मान्छेलाई स्वास्नी बनायो, अनि बच्चा जन्मायो। अरूको घरमा पनि त्यस्तै हुन्थ्यो। मेरो बुवाको पनि राम्रा राम्रा काम गर्ने आइमाईहरू भित्रिनी थिए, ६/७ जना। तरुना तरुनालाई पेट बोकाउने। बुवाको त्यस्तै थियो।
रखौटी राख्ने त परम्परा जस्तै थियो। सब राणाजीका पनि त्यस्तै हो। कति स्वास्नी कति स्वास्नी ! राणाजीहरूको पतन पनि त्यै कारणले भएको हो। गुरुज्यूहरूले त्यै सिक्या त हो नि !
सीता महारानी कसरी भई ? भीमशमशेरको काम गर्नेको पनि काम गर्ने मान्छे। आज नोकर्नी भोलि त महारानी ! पतन भएको कारण त्यै हो। खराब काम गर्यो कि पतन भइहाल्छ। अनि त खत्तमै भयो।
ती काम गर्नेका बच्चाहरू आमा जहाँ छ त्यहीं बस्ने त हो नि ! तर उनीहरू त्यहाँ बस्नै मन नपराउने। माथि नै आउन खोज्थे। तर, भित्रिनी मन नपरेपछि, तिनका छोराछोरी पनि मन नपर्ने। कस्तो अन्याय गर्ने भनेदेखिन्। हरे शिव ! बुवालाई मन पर्ने स्वास्नीको छ भने ‘आइज’ भन्ने। उनीहरू त थपक्क खोपीमा बस्ने। अरू यसो चियाएर हेर्थे ढोकाबाट। ‘जा बदमास !’ भनेर गाली गर्ने। हेला गर्ने। कस्तो दिक्क लाग्थ्यो मलाई।
मेरो मुवाले त असाध्य माया गर्ने ती बच्चाहरूलाई। तिनीहरूले ढोकाबाट हेरिराखेका हुन्छन्। अनि मुवाले चुप लाग्न इशारा गरेर सवारी भएर सामान दिने। खानेकुरा, पैसासैसा दिने। अनि ‘चूप लागेर जौ’ भनिसिन्थ्यो। ओहो ! कत्ति खुशी हुन्थे तिनीहरू।
विचराहरू खाने बेलामा पनि यसो चियाएर हेर्ने। अनि मुवाले उनीहरूलाई ‘आइज’ भनेर ढोका बाहिर गएर खानेकुरा दिइसिन्थ्यो। यसो लुकाएर च्यापेर लान्थे। बुवालाई थाहा नै हुँदैनथ्यो।
मेरो मुवालाई साह्रै दुःख भा’थ्यो। तर, मुवाले के भन्ने र ? चूप लाग्ने। मेरो आमाले ती सबै बच्चाहरूको कस्तो माया गर्ने। ‘तिनीहरूले के बिराएका छन् र ? के खराब गर्या छन् र ?’ भन्ने। पछि मास्टर राख्दा पढ्न चाहिं आउँथे। मुवाले ‘उनीहरूलाई पनि पढाउनुपर्छ’ मर्जी हुन्थ्यो।
उवेला स्वास्नी मन परेन भने निकाल्दिने, हेर बा ! मन परेकालाई चाहिं आफैंसँग राख्ने, मन नपरेकालाई चाहिं उनीहरूका बच्चासँगै घर पठाउँथे। बुवालाई मन नपरेकी एउटी बिरामी भइन्। टीबी भएको थियो। उतै गएर बिसेक हुन्छ भनेर भोट गाउँ पठाए। छोरी पनि आमासँगै गएकी थिई। यसरी निकालिदिए।
अनि अलिपछि एकदिन शिवरात्रिमा त आमाछोरी दुवै आए। बडामुवा (शिवकुमारी पाण्डे) रिसाइबक्स्यो आफ्नो छोरासित। ‘यस्तो अन्याय गर्ने हो ? के गर्छ यो राजाबाबु ? मन परेको चाहिं राख्छ, मन नपरेको चैं बच्चासहित निकाल्छ, यति सानो बच्चालाई पनि गाउँ पठाएको ! त्यसो गर्न पाउन्न त्यसले’, मर्जी हुन्थ्यो। अनि बडमुवाले आफ्नो काम गर्ने भनेर भिन्दै राखिस्यो, तिनलाई।
छोरी त लुरी भएकी, मैली–धैली। कठै बिचरा ! मलाई एकदम माया लाग्यो। अनि त्यैवेलादेखि त मेरो पछि लागिहाली। मैले पनि छोड्दै छोडिनँ। अहिलेसम्म छोडेकी छैन। अहिले पनि माया लाग्छ बा ! म जहाँ गए पनि मेरो पछि पछि लाग्थी। म चर्पी जाँदा पनि बाहिर कुरेर बस्थी। सुत्न त आफ्नै आमासित सुत्थी, तर अरू बेला ‘मैया बजैसित जान्छु’ भनेर मेरो पुच्छर लाग्थी। मेरो खानाबाट जहिले पनि अलिकति बचाएर उसलाई दिन्थें। जहाँ जाँदा पनि सँगै लान्थें।
म बुवाको खोपीमा जाँदा, ऊ खोपीको ढोकाबाहिर जुत्ता राख्ने ठाउँमा ढुकेर बस्थी। मन परेकोका छोराछोरी खोपी भित्र बस्न पाउने भए पनि उसलाई चाहिं ढोकाबाट चियाउँदा पनि बुवाले गाली गर्ने। ''ए बदमास ! जा के हेर्छस् !'' भन्ने । हरे शिवशिव ! कस्ताे हेलाँ गर्ने ! अन्याय थियो, असाध्यै अन्याय।
मुख्य त बुवाले नै उपद्रो अन्याय गर्ने। मुवालाई दुःख थियो, तर रोइबक्सिन्नथ्यो। चूप लागिबक्सिन्थ्यो, झगडा पर्ला भनेर। मुवा त साह्रै सुधो, ज्ञानी। दुल्हाले त्यत्रो स्वास्नी राख्दा पनि एकदम सहने।
‘तेरो बाबुले यस्तो गर्यो..., नराम्रो बानी भयो, के गर्ने !’ मर्जी हुन्थ्यो। हामीहरू सबै आमातिरै लाग्थ्यौं। तर बडामुवाले छोरालाई डाकेर गाली गरिबक्सिन्थ्यो। ‘यो राजाबाबुले हैरान दियो’ भनिबक्सिन्थ्यो।
बुवा त्यस्तो खराब त हैन, खालि धेरै स्वास्नी राख्ने बानी एकदम खराब थियो।
किरणराज जोशी र रूपा जोशीसितको कुराकानीमा आधारित