वन्यजन्तु फोटोग्राफर हुन्, तर बाँच्नका लागि विवाहको फोटो खिच्छन्
वन्यजन्तुको आकर्षक तस्वीर खिच्ने गरेका युवा फोटोग्राफर सागर गिरीले त्यसबाट आर्थिक भरथेग नभएपछि विवाह समारोहका तस्वीर खिच्न थालेका छन्।
सागर गिरी नेपालका भर्भराउँदा वन्यजन्तु फोटोग्राफरमध्ये पर्छन्। चितवन राष्ट्रिय निकुञ्जको काख, सौराहामा जन्मे–हुर्केका उनी नजानिंदो रूपमा चराचुरुंगी र वन्यजन्तुको संसारमा मोहित भए।
फोटोग्राफी लगाव चाहिने काम हो। त्यसमा पनि वाइल्डलाइफ फोटोग्राफीमा अझ बढी धैर्य र मिहिनेत आवश्यक हुन्छ। उनीसँग यस्ता धेरै स्मृति छन्, जहाँ वन्यजन्तुका तस्वीर खिच्दाका सास्ती र त्यसभित्रको रोमाञ्च भरपूर छ।
२०७३ मंसीरमा सागरले जीवनमै नयाँ अनुभव गर्दै थिए। बिहान भात र तरकारी पकाई प्याक गरी उनी क्यामेरा, लामा टेलिफोटो प्राइम लेन्ससहितका उपकरण लिएर आठ बजेदेखि नै चितवन राष्ट्रिय निकुञ्जमा डुल्थे। उनको साथमा हुन्थे, गाडी चालक देवेन्द्र शाही ठकुरी।
पाटे बाघको तस्वीर खिच्न गिरी तन–मनले त्यसरी लागिपरेका थिए।
घर छोडेर बाघको खोजीमा दौडिन थालेको नवौं दिनमा सागरले जिन्दगीमा पहिलो पल्ट पाटेबाघको फोटो खिच्ने मौका पाए। रोमाञ्चित हुँदै सुनाए, “टाढैबाट देख्दा कुन जनावर हो भनेर ठम्याउन गाह्रो भयो। लेन्सबाट जूम गरेर हेर्दा बाघ भएको पुष्टि भयो र फटाफट तस्वीर खिचें।”
यस्तो दिनचर्या शुरु भएको आठ दिन बितिसकेको थियो। बिहानदेखि साँझको रमरम उज्यालो रहँदासम्म जंगल चहार्थे। तर, उनी उद्देश्यमा सफल हुनसकेका थिएनन्। बाघसँग क्यामेराको लेन्स मार्फत जम्काभेट गर्ने चाहना पूरा हुनेमा उनलाई शंका लाग्न थालेको थियो।
“एकै ठाउँमा ३/४ घण्टासम्म कुरेर बस्थें, कुर्दाकुर्दै पट्यार लाग्थ्यो”, उनी त्यो वेलाको सकस सम्झन्छन्, “जंगलमा घुम्ने पर्यटक र गाइडले बाघ देखेको सुनाए पनि मलाई भने त्यस्तो अवसर नै जुरेको थिएन। हार खान लागेको थिएँ।”
तर, धैर्य र लगन खेर गएन। घर छोडेर बाघको खोजीमा दौडिन थालेको नवौं दिनमा उनले जिन्दगीमा पहिलो पल्ट पाटेबाघको फोटो खिच्ने मौका पाए। रोमाञ्चित हुँदै सुनाए, “टाढैबाट देख्दा कुन जनावर हो भनेर ठम्याउन गाह्रो भयो। लेन्सबाट जूम गरेर हेर्दा बाघ भएको पुष्टि भयो र फटाफट तस्वीर खिचें।” तर, धेरै टाढाबाट कोण मिलाएर खिच्ने मेसो मिलेन।
फोटो खिचेर उनी कसरास्थित घडियाल गोही प्रजनन केन्द्रमा आएर चालकसहित आराम गरेर बसिरहेका थिए। एक्कासी मृगहरु जोडले कराउन थाले। उनले लख काटिहाले, बाघ नजिकै छ। त्यसपछि जीप मोडेर हान्निए जंगलतिर। १० मिनेट जति अगाडि के बढेका थिए, बाघ झाडीतिर पसेको देखिहाले। त्यसपछि धीत मरुञ्जेल फोटो खिचे। “यति खुशी भएँ, आठ दिनसम्मको पट्यार र तनाव सबै दूर भयो”, उनी सुनाउँछन्।
अर्को चोटि बाघको तस्वीर खिच्दा भने पहिलो जस्तो कष्ट गर्नुपरेन। पहिलो पटक तस्वीर खिचेको दुई दिनपछि नै चितवन राष्ट्रिय निकुञ्जमा अर्को बाघ भेटियो।
सागर गाडीको पछाडि खुला भागमा बसेका थिए। गाडी गुडिरहँदा बाटो छेउमै रुखमुनि बाघ देखे। “बाघसँगको दूरी दुई मिटर पनि थिएन, झ्याप्पै गाडीमै आएर आक्रमण गर्छ कि भन्ने डर लाग्यो र अगाडि गएर सिटमा बसें”, उनले भने, “बाघ हामीलाई देखेर लुकेको थियो। हामी त्यहाँबाट अगाडि बढेपछि बाटोमा निस्किन्छ भन्ने जानेरै बाघभन्दा अघिल्तिर गयौं। नभन्दै बाघ बाटोमा निस्कियो र आनन्दले फोटो खिचें।”
पहिलो र दोस्रो पटक बाघ पछ्याउन मिहिनेत गरेका उनलाई तेस्रो पटक भने संयोगले साथ थियो। यस पटक भने बर्दिया पुगेका उनी डेढ घण्टामै बाघको आकर्षक तस्वीर खिच्न सफल भए। जुन तस्वीरहरु इन्टरनेटमा प्रशस्त भेटिन्छन्।
घटना २८ भदौ २०७४ को हो। उनको साथमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापा र पत्रकार नारायण ढुंगाना थिए। निकुञ्ज कार्यालयबाट जंगलतिर लाग्दा दुई बजेको थियो। निकुञ्जबाट निस्केको एक घण्टामै बाघ भेटियो। बाघको तस्वीर खिचेर भ्याउँदा नभ्याउँदै बाघ गर्जिदै दाह्रा किटेर आक्रमण गर्न आयो। गाडी भगाएर ज्यान जोगाएको उनले सुनाए।
मुश्किलले बचेको ज्यान
२०७० सालदेखि फोटोग्राफी शुरु गरेका सागरले सात वर्षको अवधिमा चरा र वन्यजन्तुका सयौं तस्वीर खिचेका छन्। शुरुका दुई वर्ष चरा र त्यसपछि ठूला वन्यजन्तुको तस्वीर खिचे। उनले खिचेका थुप्रै तस्वीर इन्टरनेटमा भेटिन्छन्। हेर्दा सुन्दर लाग्ने यी तस्वीर खिच्न लागेको मिहिनेत, लगानी र जोखिम भने डरलाग्दो छ।
वन्यजन्तुको तस्वीर खिच्नु जोखिमको काम हो। लोभलाग्दो तस्वीर कैद गर्न निर्जन जंगलमा घण्टौं एक्लै हिंड्दा वन्यजन्तुको आहारा भइने डर सधैं हुन्छ। सागरले यस्तो जोखिमको सामना थुप्रै पटक गरेका छन्। त्यसमध्येको एउटा घटना हो, ध्रुवे हात्तीबाट बचेको क्षण।
वन्यजन्तुले जब आफूमाथि असुरक्षित र खतरा महसूस गर्छ, त्यसपछि आक्रमण गर्न आउँछ। वन्यजन्तुलाई अप्ठेरो नपार्ने र सुरक्षाको लागि टाढैबाट विभिन्न लेन्सको प्रयोग गरेर तस्वीर खिच्ने सागर बताउँछन्।
१९ पुस २०७३ को कुरा हो, उनी वन्यजन्तुकै तस्वीर खिच्न चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको सुखीभार क्षेत्र पुगेका थिए। फर्केर गाडीमा आउने क्रममा ध्रुवे हात्ती पोथी हात्तीसँग मस्त देखे। उनले क्यामेरा निकालेर फोटो खिच्न थाले। “क्यामेराको क्लिक् क्लिक् आवाजले डिस्टर्व भएर हो कि, ध्रुवे त एकाएक आक्रमण गर्न आयो,” उनी भन्छन् “गुरु (चालक) अनुभवी भएर गाडी हुइँकाइहाल्नुभो, सेकेण्डले बाँचियो।”
वन्यजन्तुले जब आफूमाथि असुरक्षित र खतरा महसूस गर्छ, त्यसपछि आक्रमण गर्न आउँछ। वन्यजन्तुलाई अप्ठेरो नपार्ने र सुरक्षाको लागि टाढैबाट विभिन्न लेन्सको प्रयोग गरेर तस्वीर खिच्ने सागर बताउँछन्।
उनले कहिले जोखिम माेलेर तस्वीर खिचेका छन् भने कहिले रमाइलो र सजिलैसँग। १९ वैशाख २०७६ उनी सौराहामा फूटबल खेल्दै थिए। जनकौली सामुदायिक वनमा रुखमा चितुवा सुतेको कसैले सुनायो। उनी क्यामेरा लिन तुरुन्तै घर दौडिए। फोन गरेर गुरुलाई क्यामेरा ठीक पार्न भने, अनि गाडीमा गए। “म पुग्दा चितुवा भुइँमा झर्दै थियो। फटाफट फोटो खिचें”, उनी भन्छन्। त्यो क्षण उनी बिर्सन सक्दैनन्।
महँगो लगानी
सागरलाई स्थानीय परिवेश र पारिवारिक पृष्ठभूमिले वन्यजन्तु फोटोग्राफीमा डोर्याएको हो। सौराहा घर भएका उनका लागि चराचुरुंगी तथा गैंडा, हात्ती लगायत वन्यजन्तु नयाँ थिएनन्।
उनका बुवा टीकाराम गिरी पहिल्यैदेखि नेचर गाइडका रुपमा कार्यरत थिए। उनी पनि बुवाको साथ लागेर चरा हेर्न कहिलेकाहीं जंगल जान्थे। त्यो क्रम बढ्दै जाँदा वन्यजन्तुप्रति माया मौलाउँदै गयो।
बुझ्दै जाँदा चाख झन् बढ्न थाल्यो। उनी ‘नेशनल जाेग्राफी’, ‘डिस्कभरी’ टीभी च्यानलमा विभिन्न देशका वन्यजन्तु हेरेर रमाउन थाले। ती च्यानलमा अफ्रिका लगायत देशका वन्यजन्तु मात्र होइन, छिमेकी भारतका जनावर पनि देखे। उनलाई लाग्थ्यो, वन्यजन्तु त नेपालमा पनि छन्, यस विषयमा किन च्यानलले समेट्दैनन्?
२०६० सालमा एसएलसी पास गरेपछि कक्षा ११ र १२ पढ्न काठमाडौं गए। त्यसपछि अष्ट्रेलियामा दुई वर्ष होटल म्यानेजमेन्ट पढेर सौराहा फर्किए। त्यसपछि उनको फोटोग्राफी यात्रा शुरु भएको हो।
शुरुका दुई वर्ष उनले चराचुरुङ्गीका मात्र तस्वीर खिचे। सबैले फोटो हेरेर ‘वाह’ त भन्थे, तर दुई वर्षसम्म आम्दानी भएन। अब यसरी चल्दैन भनेर ठूला वन्यजन्तुको तस्वीर खिच्ने योजना बुन्न थाले। त्यसका लागि अत्याधुनिक क्यामेरा, त्यही अनुसारको शक्तिशाली लेन्स र जंगल चहार्न गाडी चाहिन्थ्यो। आफ्नो योजना बुवा–आमालाई सुनाए। “फोटो खिचेर के हुन्छ भनेर शुरुमा बुवा–आमा अन्कनाउनुभयो, पछि जग्गा धितोमा राखेर ऋण निकाल्यौं। ३५ लाखको क्यामेरा र २५ लाखको गाडी किनें”, उनी भन्छन्।
वाइल्डलाइफ फोटोग्राफीका लागि आवश्यक सबै सामान जुटेपछि उनी कहिले चितवन त कहिले बर्दिया र शुक्लाफाँटा चहार्न थाले। अन्य वन्यजन्तुका त खिचे नै, चार वर्षयता बाघका पनि थुप्रै तस्वीर खिचे।
'मिडियाले बुझेनन् मर्म'
सागरले कतै आबद्ध नभई स्वतन्त्र रुपमा फोटोग्राफी गर्दै आएका छन्। उनले खिचेका तस्वीर थुप्रै पत्रपत्रिकामा छापिए। गुगलमा सर्च गर्दा आफूले खिचेका तस्वीर धेरै सञ्चारमाध्यममा भेट्छन्, तर त्यसमा आफ्नो नाम नदेख्दा उनलाई दुःख लाग्छ। अर्कोतिर सबैले तस्वीर निःशुल्क माग्दा पनि उनी दिक्क भएका छन्।
“तस्वीर खिच्दा मेरो कति समय र मिहिनेत खर्च भएको छ, म कसरी चलिरहेको छु भनेर कसैले बुझ्दैनन्”, उनी गुनासो गर्छन्, “पत्रिकाबाट पाउने पैसा कस्तो हुन्छ भन्ने मलाई थाहा छैन।”
नेपाली सञ्चारमाध्यमले फोटोग्राफरको मर्म नबुझेको सागरको गुनासो छ। लेखकको नाम ठूलो अक्षरमा तर फोटोग्राफरको नाम सानो अक्षरमा दिने चलनले फोटोग्राफरलाई अन्याय भएको पनि उनको बुझाइ छ। “पहिलो पटक नाम दिने र दोस्रो पटकदेखि फाइल फोटो भनेर क्रेडिट नै नदिने चलन छ, यो त अपमान हो”, उनी भन्छन्।
उनले एक–दुई वटा पत्रिकालाई तस्वीर दिएका थिए। तर, त्यस वापत पाँच सय दिने पैसा दिएपछि नाम नराख्ने शर्त पनि आयो। त्यसले आफूलाई निराश बनाएको उनले सुनाए।
नेपाली सञ्चारमाध्यमले फोटोग्राफरको मर्म नबुझेको सागरको गुनासो छ। लेखकको नाम ठूलो अक्षरमा तर फोटोग्राफरको नाम सानो अक्षरमा दिने चलनले फोटोग्राफरलाई अन्याय भएको पनि उनको बुझाइ छ। “पहिलो पटक नाम दिने र दोस्रो पटकदेखि फाइल फोटो भनेर क्रेडिट नै नदिने चलन छ, यो त अपमानको कुरा हो”, उनी भन्छन्, “लाखौं लगानी गरेर, जाडो–गर्मी नभनी महीनौं दिनसम्म जंगलमा डुलेर, जोखिम मोलेर खिचेको तस्वीर सित्तैमा दिंदा पनि क्रेडिट नपाउँदा दुःख लाग्छ।”
उनले खिचेका तस्वीर विभिन्न संघसंस्थाका पुस्तक, इन्टरनेट जताततै छाए। तर, आर्थिक रुपमा निकुञ्जको रु. ६/७ लाखको काम पाउनु बाहेक तस्वीरबाट आम्दानी भएन। क्यामेरा र गाडी किन्दा ब्यांकबाट निकालेको ऋणको ब्याज तिर्न सकेनन्। त्यसपछि फोटोग्राफी छोड्ने मन बनाएर क्यामेरा र गाडी बिक्री गर्ने विचार गरे।
तर, अर्को मनले आत्तिन नहुने भन्दै ढाडस दियो। त्यसपछि वाइल्डलाइफ फोटोग्राफीलाई सोखका रुपमा मात्र राख्ने र आर्थिक रुपमा बलियो हुन विवाह समारोह र अन्य कार्यक्रम खिच्ने निर्णय गरे। “वाइल्डलाइफ फोटोग्राफीबाट बाँच्न गाह्रो देखेपछि यसलाई सोखका रूपमा सीमित गरेको छु”, उनी भन्छन्, “आर्थिक भरथेगका लागि वैवाहिक कार्यक्रम लगायत खिच्छु, त्यसबाट राम्रै भएको छ।”