बुटवलको कोरोना अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु
बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ जानकीनगरकी ७० वर्षीया महिला र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका-१ का ५० वर्षीय पुरुष छन्। महिलाको आज बिहान साढे १० बजे र पुरुषको गएराति नै मृत्यु भएको हो।
७० वर्षीय महिलालाई गत २६ साउनमा कोरोना पोजिटिभ देखिएको थियो। उनलाई उपचारका लागि ३१ साउनमा उक्त अस्पताल भर्ना गरिएको थियो। उनलाई श्वास प्रश्वासमा समस्या, उच्च रक्तचाप र थाइरोइडको पहिल्यैदेखि समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ।
त्यसैगरी ५ भदौमा कोरोना पोजिटिभ पुष्टि भएपछि पुरुषलाई पनि उपचारका लागि बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो। ५० वर्षीय पुरुष मिर्गाैला, उच्च रक्तचाप, मधुमेह लगायत रोगबाट पीडित भएको अस्पतालले जनाएको छ।