चेल्सीले भित्र्यायो इंग्ल्याण्डका लेफ्ट ब्याक बेन चिलवेल
इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले लिग प्रतिद्वन्द्वी लेस्टर सिटीका बेन चिलवेललाई पाँच वर्षका लागि अनुबन्ध गरेको छ।
यूरोपेली फूटबलमा यसपालिको ट्रान्सफर विण्डोमा एकपछि अर्को सफलता हात पारिरहेको फ्रान्क लाम्पार्डको टोलीले इंग्ल्याण्डका पहिलो रोजाइका लेफ्ट ब्याब चिलवेललाई अनुबन्ध गरेको हो। चिलवेललाई भित्र्याउन चेल्सीले लेस्टरलाई ५ करोड पाउण्ड खर्चेको गोल डटकमले जनाएको छ। बुधबार राति चेल्सीले यसको औपचारिक घोषणा गरिसकेको छ।
गोल डटकमका अनुसार चेल्सीले ब्राजिलका पूर्वकप्तान एवं यूरोपेली च्याम्पियन्स लिगको फाइनलमा पराजित फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का कप्तान थियागो सिल्भालाई पनि एक दुई दिनभत्र अनुबन्ध गर्दैछ। सेन्टर ब्याक पोजिसनमा खेल्ने सिल्भाले पीएसजी छाड्ने घोषणा गरिसकेका छन्।
लाम्पार्डले सम्हालेको पहिलो सिजन चेल्सीले शीर्ष चारमा रहेर च्याम्पियन्स लिग छनोट पक्का गरे पनि धर्मराएको रक्षापंक्ति उनका लागि ठूलो टाउको दुखाइ बनेको थियो। चिलवेल र सिल्भाको आगमनले चेल्सीको रक्षापंक्ति राम्रो लयमा फर्कने अनुमान छ।
चेल्सीले अग्रपंक्ति सशक्त पार्न यसअघि नै आरबी लाइपजिगबाट खेल्ने जर्मन स्ट्राइकर टिमो वेर्नर, डच क्लब आयाक्सका विंगर हाकिम जियाचलाई अनुबन्ध गरिसकेको छ। बायर्न लेभरकुसेनबाट व्यावसायिक फुटबल खेलिरहेका जर्मन प्लेमेकर काइ हाभेर्जलाई पनि अनुबन्ध गर्ने अन्तिम तयारीमा चेल्सी लागेको छ।