कोरोनामुक्त भएपछि आइसोलेसन वार्डलाई रु.५० हजार सहयोग दिने घोषणा
जिल्ला स्वास्थ्य कार्यालय मुगुका लेखापाल सुरेशकुमार केसीले आफू कोरोनाभाइरस संक्रमणमुक्त भएपछि जिल्ला अस्पतालको आइसोलेसन वार्डलाई दुई महीनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्।
लेखापाल केसीलाई गएको सोमबार कोरोनाभाइरस संक्रमण भएको पत्ता लागेको हो। भोलिपल्ट मंगलबार बिहान उनले फेसबुकमार्फत आफू संक्रमणमुक्त भएपछि दुई महीनाको तलब आफू उपचाररत जिल्ला अस्पतालको आइसोलेसन वार्डलाई नै दिन घोषणा गरे। उनको दुई महीनाको तलब करीब रु.५० हजार हुन्छ।
उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणको नतीजा पोजिटिभ आएको थियो। त्यसपछि जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए। उनले बेडबाटै आइसोलेसन वार्ड व्यवस्थापनमा खर्च गर्न उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन्।
जिल्लामा यसअघि खत्याड गाउँपालिकामा तीन जना संक्रमित भएको पत्ता लागेको थियो। तीमध्ये दुई जना निको भएर घर फर्किसकेका छन्। अर्का एक जना प्राथमिक स्वास्थ्य केन्द्र रातापानी आइसोलेसन वार्डमा छन्।
-अच्युत राज भण्डारी/मुगु