सन्दीप र मुजिबको उत्कृष्ट प्रदर्शन, तालावाहज भने पराजित
बलिङमार्फत सन्दीप लामिछाने र मुजिब उर रहमानले दिएको शुरुआतलाई कायम गर्न नसक्दा क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा जमैका तालावाहज पाचौँ खेलमा पराजित भएको छ।
तालावाहजलाई बार्बाडोस ट्रिडेन्ट्सले ३६ रनले पराजित गरेको छ। १४९ रनको लक्ष पछ्याएको तालावाहज ११२ रनमै समेटिएको छ। ट्रिडेन्ट्सलाई जिताउन मिचेल स्यान्ट्नर, ज्यासन होल्डर, रशिद खान र रायमोन रेइफर सबैले २/२ विकेट लिए।
६ बल ब्याटिङ गर्न पाएका सन्दीपले नटआउट ४ रन बनाए। एनक्रुमाह बोनरले ३१ रन बनाउनुबाहेक कसैले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
यसअघि टस जितेर फिल्डिङ रोजेको तालावाहजका लागि मुजिब उर रहमान र सन्दीप लामिछानेले गतिलो प्रदर्शन गरेका थिए। मुजिबले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए। त्यस्तै सन्दीपले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए।
ट्रिडेन्ट्सको ९० रनमै ६ विकेट खसिसकेको थियो। मुजिब र सन्दीपको स्पेल पनि सकिएको थियो। त्यसपछि १४८ रन बनाउँदा ट्रिडेन्ट्सको थप एक विकेट मात्र खसेको थियो।
ट्रिडेन्ट्सका लागि कायल मायर्सले ८५ रन बनाए। त्यसबाहेक मिचेल स्यान्ट्नरले २० र होल्डरले १५ रन बनाए।
मुजिब र सन्दीप यो सिजन तालावाहजका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्। ५ खेलबाट मजिबले १२ र सन्दीपले ७ विकेट लिएका छन्। मुजिब यो सिजन अहिलेसम्म सर्वाधिक विकेट लिने बलर पनि हुन्।
तालवाहजले पाँचमध्ये तीन खेलमा पराजय बेहोरेको छ। ४ अंकसहित अंक तालिकाको पाचौँ स्थानमा धकेलिएको छ।