झापामा गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय आक्रोशित
झापाको झापा गाउँपालिका ३ पटुवामारीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्।
बुधबार अपरान्ह स्थानीयले गाई काटेर मासु भाग लगाएको सुचना पाएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली त्यहाँ पुगेको थियो। स्थानीयले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट टाघनडुब्बाको भ्यान तोडफोड गर्नुका साथै सुरक्षाकर्मीलाई घाइते बनाएपछि १० राउण्ड हवाई फायर गरिएको सशस्त्रले जनाएको छ।
सो क्रममा गोली लागेर मृत्यु भएका मोहमद रफिक (३५) को शव अस्पतालमा राखिएको छ। स्थानीयको आक्रमणमा नेपाल प्रहरीका निरीक्षक संजीव बोगटी र सशस्त्र प्रहरीका सहायक हवल्दार राजन खड्का घाइते भएको सशस्त्र प्रहरी उपरीक्षक रमेश पाण्डेले बताए।
मासु र दुई व्यक्तिलाई नियन्त्रणमा लिएपछि मुचुल्का उठाउंने क्रममा स्थानीयले आक्रमण गरेपछि गोली चलेको थियो। सशस्त्रको २ नम्बर गण झापाका उपरीक्षक पाण्डेका अनुसार, स्थानीयले घेरेर सशस्त्र र नेपाल प्रहरीलाई आक्रमण गरेका थिए।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरु अहिले घटना स्थलमा पुगेका छन्। स्थानीय जनप्रतिनिधिहरुसँग घटनाका बारेमा छलफल चलिरहेको बताइएको छ। प्रहरीका अनुसार, गोली चलेपछि स्थानीयवासी आक्रोशित भई भेला भएर बसेका छन्।
घटना साम्य पार्न आज राति वा भोलि प्रहरी, प्रशासनसँग छलफल गर्ने पक्षमा स्थानीय जनप्रतिनिधि रहेको बताइएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक पोखरेलले घटनामा नेपाल प्रहरीबाट हवाई फायर तथा गोली नचलेको बताए।